Monday, 29 June 2020

एउटा अपूरो कविता

जन्म दिने बाउआमा त
पैसामा बिक्छन यहाँ
अरु नबिक्ने को छ?

अक्सर, सडकमा
हाटबजारको मूला जस्तै
बिक्छन साथीभाइहरु।

बिक्री हुँदैन प्रेम
भन्दै, कौडीको मूल्यमा
बिक्छन लैला र मजनुहरु।

अरु त अरु
अबोध बच्चाहरु पनि
चुम्बन भन्दा चकलेट बढी
मीठो मान्छन यहाँ।

वैश्य युग हो यो
यहाँ नजन्मदैं विर्य बिक्छ
मरेपछि लाश बिक्छ।

समवेदना बिक्छ।

Wednesday, 24 June 2020

कुकुर जंगल पस्दैनन।

जति नै दुःख परे पनि

कुनै दिन खान नपाएर

सहरमा भोकभोकै मरे पनि

कुकुरहरु जंगल पस्दैनन्।


सहरमा ठूला ठूला

पार्टी प्यालेसहरु छन्

जहाँबाट प्राप्त हुन्छ

कुकुरहरुलाई 

नि:शुल्क जुठो भात

र, त्यो पदार्थ

जंगलमा प्राप्त हुँदैन।


जंगलमा त 

आफै मारेर खानुपर्छ

मुसा होस् वा बन कुखुरा

जंगलमा

जोगिनु पनि पर्छ

बाघ र सिंहहरुबाट

त्यसैले 

सित्तैमा जूठो खान पाइने

सहरसँग नाता तोडेर

कुकुरहरु जंगल जान मान्दैनन्।


किनकी आफैं मेहनत गरेर

खानुपर्ने पेशालाई

कुकुरहरुले कुनै पेशा ठान्दैनन्।


आरक्षण

ओई लेकमा भेडा चराउने पार्वती
ओई बेंसीमा धान रोप्ने जानकी
ओई कोठीमा थुनिएकी सुन्तली
तेरो भागमा पनि थियो नि
आईओएमको छात्रबृत्ति
तैंले पढ्नै सकिनस्
भेडीगोठ छोडेर नागढुंगाको उकालो
तैंले चढ्नै सकिनस्
त्यसैले तँ पीर नगर 
यो जुनीमा तेरो नर्स बन्ने सपना
कुनै भूपू मन्त्रीकी छोरीले 
साकार पार्ने भइछे।

ओई पाँचथरमा आलु खन्ने लिम्बू
ओई टीकापूरमा खेत जोत्ने थारु
तेरो लागि पनि खुलेको थियो नि
सरकारी जागिरको आरक्षण
तँलाई आलु खन्दै फुर्सद भएन
तँलाई खेत जोत्दै फुर्सद भएन
सबभन्दा दुखको कुरा त
लोक सेवा आयोग भनेको के हो?
तँलाई थाहै भएन,
त्यसैले यसपाली तेरो भागको खरिदार
डल्ले साहूको छोराले खाने भएछ।

ओई रारा तालमा ऐना हेर्ने मुगाली
ओई हिमालको हावामा हराएको हुम्ली
तेरो नाममा पनि थियो नि
कलेजको छात्राबासमा एउटा कोठा
तैंले तुइन तर्नै सकिनस्
जहाँ उम्रेको थिइस्
त्यहाँबाट अलिकति सर्नै सकिनस्
त्यसैले हवाईजहाजको महंगो भाडा तिरेर
तेरै गाउँबाट आएको साथीले
बिहानै त्यसमा गुन्टा सारेछ।

ओई धनुषाको डुम
ओई महोत्तरीको चमार
कति बस्छस् हँ?
सधैं सुँगुर पालेर
सिनोको छाला काढेर
तेरो भागमा पनि खुलेको थियो नि
सेना र पुलिसको जागिर
तैंले कुद्नै जानेनस्
तैंले भनेकै मानेनस्
त्यसैले तेरो हातमा थमाउनुपर्ने बन्दुक
फेरि कुनै यदुबंशीले नै पड्काउने भएछ।


शीर्षक विनाको कविता




माथी माथी नीलो आकाशमा
चिलगाडीमा उड्नेहरुलाई
तल, धेरै तल जमिनमा
पैतालाभरि ठेला उठाएर
हिंड्नेहरुको पीडा
कहिले थाहा होला?

माथीबाट हेर्दा त देखिएला
यो दर्दको तस्वीर पनि
कुनै कलाकारको
अमूर्त चित्र जस्तो।

माथीबाट देखिएला
खाली हरिया डाँडाहरु
नीला नदीहरु
गुराँस फूलेर ढकमक्क
पहाडका पाखाहरु
धान झुलेर पहेंलै
तराईका फाँटहरु।

अझै बढी देखिए देखिएलान् 
कमिलाको ताँती जस्ता
लहरै झुपडी बस्तीहरु
झुपडीभित्रको अभाव
कहाँ देखिएला र?
खान नपाई सुतेको
बालकको तस्वीर
कहाँ देखिएला र?

माथीबाट देखिए अरु केही
देखिएला बिहेको जन्ति
वा कोही कसैको
मलामी गएर फर्केको
मान्छेको लावा लस्कर,
घाउ देखिदैंन माथीबाट
आसुँ देखिदैंन माथीबाट
मानौं तल दुःखको रडारबाट
पठाइरहेछ कसैले 
निरन्तर एउटा सन्देश
हजूर, रामराज्य छ यहाँ
कोही पीर नगरीबक्स्यो।

खबरदार!
माथी माथी चीलगाडीमा
उडी हिंड्नेहरु हो
तिमीहरु पनि तल 
झर्नैपर्छ एक दिन
अमर नसम्झ आफूलाई
मर्नैपर्छ एक दिन।
---०---

Tuesday, 16 June 2020

अध्याँरो गाउँको कथा



प्रेमको गमलामा
फूलेको एउटा फूल
अर्कै जातको परेछ भनेर
उसले सिंगै गमला फुटाइदियो,
गाउँलेहरुले वास्ता गरेनन्।

कर्कश स्वरमा रोयो भनेर
दूधे बालकलाई 
आमाको काखबाट खोसेर
उसले नदीको भेलमा बगाइदियो
गाउँलेहरुले विरोध गरेनन्।

जूनले अलिकति मुहार लुकायो भनेर
उसले जूनेलीमाथि नै तेजाब खन्याइदियो
गाउँलेहरु नाचगान गरिरहे
जूनेलीको लागि रगत बगाएनन्।

आफूले चाहे जस्तो सुवास
पवनले उडाएर ल्याएन भनेर
उसले पूरै गाउँमा आगो लगाइदियो,
गाउँलेहरु ज्यान बचाउन भागाभाग गरे
तर आगो लगाउनेको खोजी गरेनन्।

मान्छे हुनुको नाताले
असह्य पीडा त त्यतिखेर भयो
जब यी सारा अपराध गर्नेलाई
अन्त्यमा गाउँलेहरुले नै देवता घोषणा गरिदिए,
र आजसम्म पनि यो अध्याँरो गाउँमा
उसैको पूजा चलिरहेको छ।

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा
पछाडीबाट च्याप्प समातेर
सोध्छ कोही मलाई-
तपाई कुन पार्टिको?
कुन दलको?
कुन गुटको?
कुन खेमाको?
कुन कित्ताको?

मानौं उसको सदस्यता नलिईकन
म यो सडकमा हिंड्नै पाउँदिन
मानौं उसको गूणगान नगाएसम्म
म यहाँ रहनै पाउँदिन
मानौं म उसको नभएसम्म
यो देशको नागरिक नै हुन पाउँदिन।

सत्तापक्षको भनौं भने
तेरो हजुरबाउ बिपक्षी थियो भन्लान्
बिपक्षी नै हुँ भन्दिउँ भने
तँलाई शासकको डर लाग्दैन भन्लान्
नबोली बसूँ भने
यस्तो घोसे त बिद्रोही हुन्छ भन्लान्
बोलूँ भने पनि डर
नबोलूँ भने पनि डर
सत्य बोलेर पनि विश्वास नगर्ने
झुठो बोलेर पनि सुख नपाइने
पर्‍यो लौ न कस्तो फसाद!

हर पार्टीको कोही न कोही नेता
मन पर्छ मलाई पनि
हर दलको घोषणापत्रले
लोभ्याउँछ मलाई पनि
म सत्तासीन पार्टीका नेतालाई
ससम्मान अभिभादन गर्दा
बिपक्षी दलका नेतालाई
पनि थोरै सम्झन्छु।
बिजयी नेतालाई मात्र होइन
पराजित नेतालाई पनि
उत्तिकै सम्मान गर्छु।

के यो देशमा
कुनै पनि दलको सदस्यता नलिएर
म एउटा स्वतन्त्र नागरिक भएर
म यहाँ बाँच्न सक्तिन?
दलको झोला नभिरी
म आफ्नै संसारमा
स्वतन्त्र हाँस्न सक्तिन?

यस्तै केही सोच्तै थिएँ
पछाडीबाट च्याप्प समातेर
सोध्छ कोही मलाई-
तपाई कुन पार्टिको?

पश्चाताप



प्रिय कविजी,
अझै कति लेख्नुहुन्छ,
यी निर्जीव कविताहरु?

बरु हलो जोतेको भए
फल्थे बारीमा एक दुई बाली
अन्न र घासँहरु
बरु भैंसी पालेको भए
चल्थ्यो सजिलै घर परिवार
फैलाउँछु काब्यरस भनेर
बेकार कविता लेख्नुभयो, कविजी।

बरु बुनेको भए हुन्थ्यो
डोका, डाला र नाम्ला
बोकेर डुलेको भए
विक्री हुन्थ्यो गाउँघरमा
बरु रोपेको भए हुन्थ्यो
दुई चारवटा आँपका बोटहरु
यो उखरमाउलो गर्मीमा
शीतल बस्न पाइन्थ्यो कि?
ब्यर्थै कविता लेखेर
जोवन खेर फाल्नुभयो कविजी।

बेलैमा ऋण काढेर
अरब लागेको भए
कि आउँथ्यो घरमा
एक थान ३२ ईन्चको एलईडी सेट
दुई चार थान खजूरका प्याकेटहरु
कि पठाउँथ्यो कसैले
कुनै दुःखको खबर
खबरसँगै एउटा काठको बाकस
कविजी ऋण माग्नै लजाउनुभयो
खतरा मोल्नै डराउनुभयो
बदलामा लेख्नुभयो दर्जनौं गीतहरु
परदेशीका पीडाहरु
घरबार छुटेका सपनाहरु।

घोकेको भए बैंशैमा
निमाका गेसपेपरहरु
बी.ए. र  एम.ए. पास गर्नुहुन्थ्यो
खरिदार सुब्बा नै सही
चाहिने नचाहिने सबै
इतिहास, भूगोल र कला
रटेको भए, बूढेसकालमा
दमको औषधी किन्ने पैसा त
राज्यले दिन्थ्यो कि?
राज्यकै विरुद्ध कविता
लेखेर बस्नुभयो कविजी।

बोकेको भए झोला
कुनै नेताको
मोलेको भए खुट्टा
कुनै माफियाको
लागेको भए युद्धमा
काँधमा राखेर एउटा बन्दुक
कुनै ज्ञात अज्ञात शहीदको सूचीमा
नाम हुन्थ्यो कि सायद
कि के थाहा खै, कविजी
कुल्चेर तिनै शहीदका सपनाहरु
सरकारको मन्त्री पो हुनुहुन्थ्यो कि?
चेतना फैलाउँछु भनेर जीवनभर
कविता लेख्नुभयो कविजी,
आज चेतना बेस्सरी फैलियो
तर जिन्दगी फूल झैं वैलियो।।
---०---

हनुमान सागर


म हनुमन्ते
हिजोको पवित्र हनुमती नदी
मेरो कञ्चन पानी पिएर हुर्केका
कति अजा अजीहरु
अझै पनि होलान
कुनै सत्तलमा भजन गाउँदै
म भने फेरिएको छु
हिजोको पवित्र नदी हनुमतीबाट
बदलिंदै, बदलिंदै
आज प्रदूषित हनुमन्ते भएको छु।

म जहाँ बग्छु
या बग्न नसकेर थकित हुँदै
बूढो गधा जस्तै
जिन्दगी घिसार्दै हिंड्छु
नाक थुन्छन स्कुले केटाकेटीहरु
मेरो दयनीय अवस्था देखेर
म फोहोरको अर्को नाम भएको छु
म दूर्गन्धको अर्को नाम भएको छु
हिजोको पवित्र नदी हनुमती
म आज बदनाम भएको छु।

मेरो काखमा लहलह झुल्ने
धानका बालाहरु
आज कथामा सीमित भएका छन
मेरो आँखामा नाच्ने हरिया फाँटहरु
आज चिरा चिरा परेका छन
बदलामा छरिएका छन
प्लटिङका अनगिन्ति टुक्राहरु
जहाँ पैसा मात्र खाने
खाइरहने र कहिल्यै नअघाउने
सिमेन्टको मुटु भएका
छातीभरि फलामे डण्डी जस्तै
करङ भएका
अग्ला अग्ला कंक्रिटका मान्छेहरु
मेरो बेगलाई रोक्न खोज्दैछन।

म रिसाएँ भने
कुनै दिन मार्बल बिछ्याइएका
भान्साहरुभित्र छिर्न
मलाई कुनै प्रवेशाज्ञा चाहिने छैन
म बौलाएँ भने कुनै दिन
कसैले नदेखेको
कसैले नाम नसुनेको
हनुमान सागर भएर म बगिदिनेछु
अस्तित्वको अन्तिम क्रन्दन बोकेर,
त्यसैले मलाई मेरै गतिमा बग्न देऊ
मलाई मेरै पुरानो स्वरुपमा फर्कन देऊ।

डर


आफ्नै आँखा अगाडी
भयानक हतियार खसेर
सिंगो परिवार ध्वस्त हुँदा पनि
आफू बाँचेकोमा गर्व गरिरहने
, सभ्य र सम्पन्न विश्वका नागरिक!
तिम्रो मतलवी चाला बुझेर
सायद कुनै दिन तिमी
उभिराखेको यो माटोले पनि
श्रद्धाको आँसु चुहाउनेछ।

तिम्रो बेफुर्सदी दिनचर्या देखेर
आज यो आकाश पनि विक्षिप्त छ,
समृद्धिको सगरमाथा चढ्ने
तिम्रो मृगतृष्णा आज
करुणाको मृत सागरमा
चुर्लुम्म डुबेको छ
तर पनि तिमी अझै
आफूलाई ओभानो देख्छौ
सर्पको मुखमा फसेको
कुनै कीरा जस्तै
आफूलाई सकुशल ठान्छौ,
भर्खरै बम खसेर रगताम्य
एक जोडी बृद्ध आत्माको नाममा
किन एक साँझ नपिई बस्न सक्दैनौ?

आफूलाई नदुखेसम्म ऐया नभन्ने
आफैंलाई नलागेसम्म दुख्यो नभन्ने
फरक लाग्दैन मलाई
कुनै ढूंगाको देवतालाई चढाइने
बलिको पशु र तिम्रो सोचाइमा
जो मर्नभन्दा केही सेकेण्ड अघिसम्म
परको हरियो देखेर
पुच्छर हल्लाईरहेको हुन्छ
हरियो चाहे घाँस होस या डलर होस
हरियो त आखिर हरियै हो।

जब आफ्नै अगाडी देखिएको
चरम अन्यायको विरोधमा
तिमी एक दिन
कालो पट्टी बाँध्न सक्दैनौ
मोबाइलको स्क्रिनमा
स्क्रोल गरेर फालिदिन्छौ
निर्दोष बालकलाई
गोली दागिएको तस्वीर
तब डर लाग्छ मलाई
अबोध आत्माको
विभत्स हत्याभन्दा पनि धेरै
तिम्रो उदेकलाग्दो मौनता देखेर।

(सिरियामा मारिएका बालबालिकाहरुको सम्झनामा)


निभ्नै लागेको बत्ती र कलिला आँखाहरु

धिप्पधिप्प बलिरहेको
एउटा बत्ती छ
बत्तीको अघिल्तिर बसेर
एकजोर कलिला आँखाहरु
एक तमासले हेरिरहेछन
निभ्नै लागेको बत्तीमा
र मनमनै पुकारिरहेछन्
हे, ईश्वर! यो बत्ती ननिभोस्
कम्तिमा पनि
यो चकमन्न रात रहेसम्म।

जोगाएर ज्वाला हातले
बचाउन खोज्दा पनि
कतै आफ्नै सासले
बत्ती निभिहाल्छ कि भन्ने डर
बिर्सेर बत्तीलाई
एकैछिन सुस्ताउँदा पनि
निष्ठूरी हुरीले
बत्ती निभाइहाल्छ कि भन्ने डर
डरै डरमा रातभर
जागा बसेका कलिला आँखाहरुमा
जब कोही आएर अचानक
लिन्छ एउटा तस्वीर
फुल फ्ल्यास मोडमा
कलिला आँखाहरु केही बन्द हुन्छन्
तर जसै आँखा खुल्छन्
बत्ती निभिसकेको हुन्छ।
बाँकि रहेको हुन्छ केवल
चूक घोप्टाए जस्तो अध्याँरो।

भोलिपल्ट विहान
अखबारमा छापिन्छ
बत्ती हेरीरहेको बालकको फोटो
तर त्यहाँ न बत्ती हुन्छ
न कुनै बालक हुन्छ
हुन्छ त खालि एउटा क्याप्सन
चन्द्रग्रहणको आकाश।

धेरैपछि भेटिन्छ
कुनै अदालतको कुनामा
एउटा घटनास्थल मुचुल्का
र दसीको पोको
जहाँ बत्ती, बालकको कपडा,
क्यामेरा र कलम 
एउटै पोको बाँधेर राखिएको हुन्छ।

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...