Thursday, 7 August 2025

जो जससँग सम्बन्धित छ।

स्कुल जाने उमेरको 

एउटा बालक

रातो बत्तीको जाममा

सडकमा एकैछिन रोकिएका

सवारी चालकहरुलाई 

देखाउँदै छ एउटा लाइसेन्स

जहाँ लेखिएको छ

विषय – जो जससँग सम्बन्धित छ।

 

हो, विषय - जो जससँग सम्बन्धित छ,

तर त्यो निरीह बालक

कोही कसैसँग सम्बन्धित छैन।

न उसको बाबुआमासँग सम्बन्ध छ

न कुनै अनाथालय वा शिविर...।

कसैसँग सम्बन्धित नहुनुको 

परिणाम ऊ बोकिरहेछ,

एउटा बेठेगान पत्र,

जो जससँग सम्बन्धित छ।

 

कहाँबाट पायो उसले

त्यो बेवारिसेको प्रमाणपत्र कस्ले बनायो?

निष्ठुरी भाग्यमाथि यति बिघ्न

माया फेरि कस्ले खनायो?

भुइँमा झरेको पाँचको नोट 

टिप्ता टिप्तै उसले भनेको थियो

विजुलीको गतिमा जसरी

बलेको थियो हरियो बत्ती

रातो र पहेंलोसँगै...।

मालिकले पठाएको

 

को हो त्यो मालिक?

जसले यी बालबालिका प्रयोग गरेर

रकम असुल्दैछ,

दिनभरि ज्यानको बाजी लगाएर,

घाम, पानी, भोक, तिर्खा नभनेर

दुनियाँसँग मागेको भिख लुटेर

जसले दिएको छु भन्छ, 

दैनिक पचास रुपैंयाको जागिर।

सडकमा दर्जनौं बच्चा छोडेर

कस्ले गर्दैछ यस्तो अनौठो खेति?

 

राज्यले किन त्यो मालिकको खोजी गर्दैन

समाजले किन त्यो दलालीलाई देख्दैन?

पत्रकारले किन उसको करतुत लेख्दैन?

कहाँ गए अधिकारकर्मी

एनजीओ र आईएनजीओहरु

कता गायब भए, देश बदल्ने नेता

र युग बदल्ने अभियन्ताहरु?

 

शंका लाग्छ कतै

संरक्षण गर्नुपर्नेले नै त

यो उद्यम चलाइरहेको छ कि!

डर लाग्छ कतै

बालबालिकाको क्षेत्रमा 

उच्च योगदान पुर्‍याएबापत

पुरस्कृत पो गरिसकियो कि?

निरीह बालक सक्दैन,

मालिकले थमाइदिएको

कागजको खोस्टो च्यातेर

स्वतन्त्र मगन्ते बन्न

उसलाई पुलिसको डर छ

उसलाई सरकारको डर छ।

 

खोई, कोसँग सम्बन्धित हो? 

यो संग्दिग्ध पत्रको विषय

जहाँ निर्वाध लेखिएको छ,

जो जससँग सम्बन्धित छ।

 

No comments:

Post a Comment

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...