Thursday, 14 April 2022

एक श्रमिकको आत्मकथा


बोकेर भारी पिठ्युमा

हिंडिरहेछु निरन्तर

जिन्दगीको उकालो

गन्तब्य कहाँसम्म हो?

खोई, थाहा छैन।


कस्को भारी हो यो?

के छ सामान यो बोराभित्र?

कति मूल्य हो यस्को?

नाफा घाटा के हो?

क्रय विक्रयमा

मलाई केही थाहा छैन।



प्रतिबन्धित वस्तु केही भए

यस बोराभित्र

पुलिसले मलाई नै पक्रनेछ

बेचेर यो महंगोमा

नाफा हुने भए

साहूलाई नै हुनेछ

मैले त खालि उठाउनुछ

यसको तौल

र भूगोलको एउटा कुनाबाट

अर्को कुनासम्म लैजानुछ।


बोरा बोक्दा

मेरा खुट्टाहरु गलेबापत

नाम्लोले मेरो

शीरमा डसेबापत

मेरो पिठ्युले सकीनसकी

बोराको भार थामेबापत

मैले पाउनुछ भरे

केही सय रुपैंया

जसले मैले किन्नुछ

मेरा छोराछोरीको लागि

एक दर्जन कापी

श्रीमतीको लागि

एक ज़ोर चप्पल

र बा आमाको लागि

केही पत्ता औषधी।


हो, म श्रमिक हुँ

मैले बिरामी भएँ

भन्न पाउँदिन

म आज आराम गर्छु

भन्न पाउँदिन

अरु त अरु मैले

मैले विश्व श्रमिक दिवसमा पनि

दिनभरि भारी नबोकी 

बेलुकी हातमुख जोर्न पाउँदिन।

__ __ __ __ __


(तपाई जस्तो 

भाग्यमानी होइन हजुर

जो कविता पढेर 

विश्व श्रमिक दिवस 

मनाउन पाउनुहुन्छ।)



भजन

पशुपति परिसरमा

साँझ आरती गरेको बेला

भक्तजनले गाएको गीत

खै, के भजन भन्नु!



बौद्ध गुम्बामा

भिक्षुहरुले ध्यान गर्दा

बजेको शान्ति ध्वनि

ओम् मणि पद्मे हुँ

त्यो पनि भजन हो?


जामे मस्जिदमा

अल्लाहको नाम पुकार्दै

भक्तहरुले कुरान पढ्दा

त्यसमा पनि भजन छ र?


गाउँको चर्चमा 

प्रत्येक आइतबार

ईशुको प्रार्थाना चल्दा

त्यहाँ पनि भजन गाइन्छ र!


भजन त हामी सुन्छौं

विहान बेलुका

सरकारी सञ्चार माध्यममा

सिन्को नभाँच्ने नेताहरुले

यसो भन्नुभयो।

उसो भन्नुभयो।


असली भजन!

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...