बोकेर भारी पिठ्युमा
हिंडिरहेछु निरन्तर
जिन्दगीको उकालो
गन्तब्य कहाँसम्म हो?
खोई, थाहा छैन।
कस्को भारी हो यो?
के छ सामान यो बोराभित्र?
कति मूल्य हो यस्को?
नाफा घाटा के हो?
क्रय विक्रयमा
मलाई केही थाहा छैन।
प्रतिबन्धित वस्तु केही भए
यस बोराभित्र
पुलिसले मलाई नै पक्रनेछ
बेचेर यो महंगोमा
नाफा हुने भए
साहूलाई नै हुनेछ
मैले त खालि उठाउनुछ
यसको तौल
र भूगोलको एउटा कुनाबाट
अर्को कुनासम्म लैजानुछ।
बोरा बोक्दा
मेरा खुट्टाहरु गलेबापत
नाम्लोले मेरो
शीरमा डसेबापत
मेरो पिठ्युले सकीनसकी
बोराको भार थामेबापत
मैले पाउनुछ भरे
केही सय रुपैंया
जसले मैले किन्नुछ
मेरा छोराछोरीको लागि
एक दर्जन कापी
श्रीमतीको लागि
एक ज़ोर चप्पल
र बा आमाको लागि
केही पत्ता औषधी।
हो, म श्रमिक हुँ
मैले बिरामी भएँ
भन्न पाउँदिन
म आज आराम गर्छु
भन्न पाउँदिन
अरु त अरु मैले
मैले विश्व श्रमिक दिवसमा पनि
दिनभरि भारी नबोकी
बेलुकी हातमुख जोर्न पाउँदिन।
__ __ __ __ __
(तपाई जस्तो
भाग्यमानी होइन हजुर
जो कविता पढेर
विश्व श्रमिक दिवस
मनाउन पाउनुहुन्छ।)