Showing posts with label NEW. Show all posts
Showing posts with label NEW. Show all posts

Tuesday, 16 June 2020

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा
पछाडीबाट च्याप्प समातेर
सोध्छ कोही मलाई-
तपाई कुन पार्टिको?
कुन दलको?
कुन गुटको?
कुन खेमाको?
कुन कित्ताको?

मानौं उसको सदस्यता नलिईकन
म यो सडकमा हिंड्नै पाउँदिन
मानौं उसको गूणगान नगाएसम्म
म यहाँ रहनै पाउँदिन
मानौं म उसको नभएसम्म
यो देशको नागरिक नै हुन पाउँदिन।

सत्तापक्षको भनौं भने
तेरो हजुरबाउ बिपक्षी थियो भन्लान्
बिपक्षी नै हुँ भन्दिउँ भने
तँलाई शासकको डर लाग्दैन भन्लान्
नबोली बसूँ भने
यस्तो घोसे त बिद्रोही हुन्छ भन्लान्
बोलूँ भने पनि डर
नबोलूँ भने पनि डर
सत्य बोलेर पनि विश्वास नगर्ने
झुठो बोलेर पनि सुख नपाइने
पर्‍यो लौ न कस्तो फसाद!

हर पार्टीको कोही न कोही नेता
मन पर्छ मलाई पनि
हर दलको घोषणापत्रले
लोभ्याउँछ मलाई पनि
म सत्तासीन पार्टीका नेतालाई
ससम्मान अभिभादन गर्दा
बिपक्षी दलका नेतालाई
पनि थोरै सम्झन्छु।
बिजयी नेतालाई मात्र होइन
पराजित नेतालाई पनि
उत्तिकै सम्मान गर्छु।

के यो देशमा
कुनै पनि दलको सदस्यता नलिएर
म एउटा स्वतन्त्र नागरिक भएर
म यहाँ बाँच्न सक्तिन?
दलको झोला नभिरी
म आफ्नै संसारमा
स्वतन्त्र हाँस्न सक्तिन?

यस्तै केही सोच्तै थिएँ
पछाडीबाट च्याप्प समातेर
सोध्छ कोही मलाई-
तपाई कुन पार्टिको?

पश्चाताप



प्रिय कविजी,
अझै कति लेख्नुहुन्छ,
यी निर्जीव कविताहरु?

बरु हलो जोतेको भए
फल्थे बारीमा एक दुई बाली
अन्न र घासँहरु
बरु भैंसी पालेको भए
चल्थ्यो सजिलै घर परिवार
फैलाउँछु काब्यरस भनेर
बेकार कविता लेख्नुभयो, कविजी।

बरु बुनेको भए हुन्थ्यो
डोका, डाला र नाम्ला
बोकेर डुलेको भए
विक्री हुन्थ्यो गाउँघरमा
बरु रोपेको भए हुन्थ्यो
दुई चारवटा आँपका बोटहरु
यो उखरमाउलो गर्मीमा
शीतल बस्न पाइन्थ्यो कि?
ब्यर्थै कविता लेखेर
जोवन खेर फाल्नुभयो कविजी।

बेलैमा ऋण काढेर
अरब लागेको भए
कि आउँथ्यो घरमा
एक थान ३२ ईन्चको एलईडी सेट
दुई चार थान खजूरका प्याकेटहरु
कि पठाउँथ्यो कसैले
कुनै दुःखको खबर
खबरसँगै एउटा काठको बाकस
कविजी ऋण माग्नै लजाउनुभयो
खतरा मोल्नै डराउनुभयो
बदलामा लेख्नुभयो दर्जनौं गीतहरु
परदेशीका पीडाहरु
घरबार छुटेका सपनाहरु।

घोकेको भए बैंशैमा
निमाका गेसपेपरहरु
बी.ए. र  एम.ए. पास गर्नुहुन्थ्यो
खरिदार सुब्बा नै सही
चाहिने नचाहिने सबै
इतिहास, भूगोल र कला
रटेको भए, बूढेसकालमा
दमको औषधी किन्ने पैसा त
राज्यले दिन्थ्यो कि?
राज्यकै विरुद्ध कविता
लेखेर बस्नुभयो कविजी।

बोकेको भए झोला
कुनै नेताको
मोलेको भए खुट्टा
कुनै माफियाको
लागेको भए युद्धमा
काँधमा राखेर एउटा बन्दुक
कुनै ज्ञात अज्ञात शहीदको सूचीमा
नाम हुन्थ्यो कि सायद
कि के थाहा खै, कविजी
कुल्चेर तिनै शहीदका सपनाहरु
सरकारको मन्त्री पो हुनुहुन्थ्यो कि?
चेतना फैलाउँछु भनेर जीवनभर
कविता लेख्नुभयो कविजी,
आज चेतना बेस्सरी फैलियो
तर जिन्दगी फूल झैं वैलियो।।
---०---

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...