Thursday, 22 May 2025

बिहेको सारी, आमाको।

तीस वर्ष अगाडी

बाबाले आमाको लागि 

विहेमा दिनुभएको 

एउटा गुलाफी रंगको सारी

बाबाको पार्थिव शरीरसँगै

जलेर खरानी भयो।

 

म बालकै हुँदा

मैले देखेको थिएँ

आमाको बाकसभित्र 

वर्षौंदेखि, त्यो सारी

उस्तै थियो, नयाँ

पुरानो जमानाको 

तर जतनले राखेको

विहेको सारी, आमाको।

 

सायद लगाउनुभयो कि?

आमाले विहेकै दिन त्यो सारी

थिएन तस्वीर कसैले

खिचेर राखिदिएको

सम्झनाको तस्वीर 

कसैलाई देखाउन नमिल्ने

त्यो गाढा गुलाफी रंग

छिर्केमिर्के केही बुट्टाहरु

उचाल्दा धार्नी नै पुग्ला जस्तो

विहेको सारी, आमाको।

 

मैले थाहा पाएसम्म

कुनै दिन बजार जाँदा 

आमाले लगाउनुभएन त्यो

दशैं तिहार चाडपर्व 

कहिल्यै फटाउनुभएन त्यो

पूजाआजा, धर्मकर्म

कहिंकतै देखाउनुभएन त्यो

साँचेर राख्नुभयो जुग जुगसम्म

सिउँदोको सिन्दूर मानेर

तनमा होइन, मनमा

सजाउनुभयो अनन्तसम्म

अनमोल जुहार ठानेर

मसँग एउटा सारी छ,

मेरो सिन्दूरको साक्षी भनेर।

 

प्राय: लगाउनुभयो सधैं

सस्ता धोती र लुँगीहरु

साँचेर एउटा सारी 

जो थियो एक मात्र राम्रो

गतिलो र हेर्नलायक

पोको पारेर राखेको

कपूरको बास्नासँगै

आज जलेर खरानी भयो

बाबाको निष्प्राण देहसँगै

विहेको सारी, आमाको।

 

 

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...