बालकलाई नक्सा के थाहा?
सीमाना भनेको के हो?
देश भनेको के हो?
नागरिकता भनेको के हो?
उसलाई त यति मात्र थाहा छ कि
टेबिलमाथिको ग्लोब होइन
खालि एउटा भकुण्डो हो
भित्तामा टाँसिएको नक्सा होइन
त्यो त खेलौना बनाउने
कागजको एक टुक्रा हो।
कहाँ टेक्न हुन्छ?
कहाँ टेक्न हुन्न?
यो जमिन कस्को हो?
त्यो आकाश कस्को हो?
उसलाई केही थाहा छैन
उसको लागि त
सारा जमिन आफ्नो हो
अनि त्यो बादलमाथिको
पूरै नीलो आकाश हाम्रो हो।
हरियो रंग जंगल हो
नीलो रंग पानी हो
राता पहेंला पुतलीजस्ता
यी ठूला र साना देशहरु हुन्
यी ठाडा धर्काहरु देशान्तर हुन्
यी तेर्सा रेखाहरु अक्षांश हुन्
बालक सुन्न चाहँदैन
यस्ता बनावटी कुरा
किनकी उसको लागि
यो पृथ्वी हाम्रो हो
यो घर हाम्रो हो।
No comments:
Post a Comment