Tuesday, 16 June 2020

स्वतन्त्रता दिवस

एकदिन विहानै
सानो छोराले सोध्यो मलाई
एउटा अप्रत्यासित प्रश्न
बाबा हाम्रो स्वतन्त्रता दिवस कहिले पर्छ?
        
छोराको प्रश्नले एकचोटी झस्किएपछि
साँच्चै छैन कि क्या हो?
हाम्रो स्वतन्त्रता दिवस भनेर
अलिकति मन चस्किएपछि
मैले अचानक पल्टाएँ  
क्यालेण्डरका पानाहरु फररर
बैशाख जेठ असार साउन
मंसीर पुस माघ फागुन
त्यहाँ थिए केवल
लोकतन्त्र दिवस
प्रजातन्त्र दिवस
गणतन्त्र दिवस
तर कतै थिएन
स्वतन्त्रता दिवस।

छोराको प्रश्न
छोराकै पुस्तकमा पनि त
जबाफ हुनसक्छ भनेर
पल्टाएँ जब उसका किताबहरु
जी.के., हिस्ट्री
साईन्स, मिस्ट्री
त्यहाँ त केवल लेखिएको रहेछ
रिमालको एक टुक्रा कविता
साम्राज्य दुई हारे, हारेन शान हाम्रो।

अन्त्यमा मैले बाध्य भएर भन्नैपर्‍यो
भन्दा अलिकति आँसु पनि झर्‍यो
साँच्चै छोरा हाम्रा बीर पुर्खाले
हामीलाई स्वतन्त्र राख्न
हिजो प्राणको आहुति दिएछन्
त्यसैले आज हाम्रो
स्वतन्त्रता दिवस रहेनछ।
तर पाईला पाईलामा
पराधीन हुनुपरेको
यो यथार्थतालाई कुनै दिन
तँ आफैंले पुनर्लेखन गर्नेछस्
ईतिहासको छात्र को?
उपहासको पात्र को?
हेर्दैजा, कुनै दिन तँ आफैं देख्नेछस्
स्वतन्त्रता दिवस हाम्रो
हाम्रो नेपाली मात्रको।

No comments:

Post a Comment

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...