Tuesday, 16 June 2020

देश ठूलो कि घर?


गुड मर्निङ्ग सर
आज त भन्नूस् न सर
देश ठूलो कि घर?

हिजो पनि भोली भन्छु
भन्दै जानुभयो
कुन्नि के के सोच्नुभयो
हातका औंला गन्दै जानुभयो
आज त भन्नूस न सर
देश ठूलो कि घर?

भित्ताको नक्सालाई देश मान्दा
घरै ठूलो लाग्छ हामीलाई
शहीदको तस्वीर नियाल्दा
देशै ठूलो लाग्छ हामीलाई
घरमा बा र आमा छन्
देशमा नेता र मन्त्री छन्
बा ठूला कि नेता
आमा ठूली कि मन्त्री?
हामीलाई जान्न लाग्दैछ रहर।

सुनेर प्रश्न निर्दोष
यी भावि पुस्ताहरुको
खै के सुनाउनु कथा
कोशी र सुस्ताहरुको
खासमा घरघर मिलेर नै देश बन्छ
अनि, देश रहे पो घर पनि रहन्छ
यस्तै केही सोच्तै थिएँ,
अकस्मात् टिनिन्न घन्टी बज्यो
र म फर्किएँ निरुत्तर।

पर पुग्दा सम्म पनि
कानमा उही आवाज गुञ्जिरह्यो
सर, देश ठूलो कि घर
आज त भन्नूस् न सर।

No comments:

Post a Comment

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...