एउटा भव्य मन्दिर वरिपरि
हजारौं भक्तजनले घेरे झैं
एउटा सुन्दर बगैंचालाई
लाखौं आँखाले हेरे झैं
बन्द मुटुको पर्खालभित्र
खुलिरहेछ रत्नपार्क
माया मालीको असाध्यै पाएर
माया पिउँदा पिउँदा अघाएर
कस्सिएर खुम्चिएर
बाँधिएर गुम्सिएर
चारैतिर बलिया प्रेमरुपी
सिमेन्टका लठ्ठाले बेरे झैं
व्युँझिरहेछ रत्नपार्क
दिउँसोको घटनाले झस्किएर
आँफू आँफैंसँग मस्किएर
मध्यरातमा जुरुक्क उठेर
कुनै कविले कविता केरे झैं।
ताप्लेजुङ्गदेखि दार्चुलासम्म
मुस्ताङदेखि मर्चवारसम्म
बाहून क्षेत्री बैश्य शुद्र
गूणी दानी लोभी छुद्र
को बस्दैन रत्नपार्कमा?
जब खुल्छ एक बजे
निशुल्क प्रवेशद्वार
को पस्तैन रत्नपार्कमा
व्यापारीदेखि कर्मचारीसम्म
दलालदेखि ब्रम्हचारीसम्म
महिनौंदेखिको दौडधुप
मान्छेहरुको व्यस्त स्वरुप
विर्सेर एकैछिन घडीलाई
को फस्तैन रत्नपार्कमा?
कहिं काँक्रा बेच्ने हातहरु
कतै दिउँसै पर्ने रातहरु
कहिं कक्रिंटको जंगलभित्र
प्रकृति खोज्दै हिंड्नेहरु
कहिं भेजिटेबल किन्न
नन-भेज प्रेम गर्नेहरु
कहिं बेरोजगारको पीडाले
दिनभर विज्ञापनमा चर्नेहरु
कहिं झुठा समाचारका
सस्ता पत्रिका छर्नेहरु
कहिं स्वघोषित राष्ट्रपति
बनेका मुकुन्देहरु
हाँसो ठट्टामा उडेका
माओ, बीपी र नेहरु
के छैन रत्नपार्कमा
को छैन रत्नपार्कमा
तर आश्चर्य लाग्छ मलाई
सबैथोक भएर पनि
रत्नपार्क खोई, रत्नपार्क?
रत्नपार्क किन छैन रत्नपार्कमा?
No comments:
Post a Comment