साँघुरो सडकका
दुवै भित्तामा टाँसिएका
केही पुराना
केही नयाँ
घरहरु छन्
घरभित्र बस्ने
सयौं विद्यार्थीहरु
र बाँकि दुईचार जना
सरहरु छन्।
तल बल्खु
कालीमाटी हुँदै
रत्नपार्क पुग्ने
ठूला साना र मझौला
हरिया नीला र सेता
रेलका डिब्बा झै
बसहरु छन
माथि दर्जनौं
खुद्रे किरानाहरु
आलु र चियाका दोकानहरु
अनि बाँकि दुई चारवटा
ज्यासः र वसः
पसःहरु छन्।
दिउँसो थोरै गर्मी छ
साँझ विहान ठण्डी छ
दोवाटोमा खचाखच
भरिने एउटा मण्डी छ
नजिकै अर्को भट्टी छ
भट्टीभित्र तुम्बा छ
भट्टीबाहिर गुम्बा छ
गुम्बाको वरिपरि
सस्ता जोडीहरु छन
तरकारी बेच्नेसँग
वैलाएका सागहरु छन
सुकेका बोडीहरु छन।
ट्याङ्लाफाँटको बाटो
कहिले धुलै धुलो छ
कहिले हिलै हिलो छ
नजिकै विश्वविद्यालय छ
त्यसको टाउकामा
चारवटा घडीहरु त छन
तर समय चाँहि ढिलो छ
किनकी यहाँ कहिल्यै
निको नहुने राजनीति
नामको पिलो छ।
कोही दौडिरहेछन
कोही पढिरहेछन
कोही ओर्लिरहेछन
कोही चढिरहेछन
सफलताको एउटा कल्पबृक्ष
तर विर्सेर सारा
मानवीय रहरहरु
भुलेर सारा
मनका कहरहरु
डुलिरहेछ एउटा डुलुवा
आधुनिकता र स्वार्थलाई
चुनौति दिंदै
धमिराले खाएको रुखजस्तो
उस्को जिन्दगी
तर हाय गईरहेछ
दिनदिनै
सकिदैं सकिदैं।
No comments:
Post a Comment