सँधै मनाईरहेको पर्व
फेरि मनाउनुमा के गर्व?
पोहोर पनि, परार पनि
टपरीभरि जमरा छरेकै हो
निधारभरि अक्षता भरेकै हो
तर त्यो जमरामा फुल्न सकेन
मेरो परिवर्तनको रहर
रातो अक्षतामा मेरो विकट गाउँ
कहिल्यै बन्न सकेन सहर।
विना कुनै खुशी
खसि काटेर खान्छन मान्छेहरु
कोही मामाघर जान्छन
कोही ससुराली जान्छन
खोपडी जति पुरानो भए पनि
एक जोर नयाँ कपडा किनेर लगाउँछन
देश जति भत्के पनि
भित्तामा टाँसेको नक्सामा
जति नै प्वाल परे पनि
आफ्नो घर रंगाउँछन
आँगन सजाउँछन।
पानीमिलको घट्ट घुमे झैं
वर्षभरि रुन्छन
र एकदिन विना खुशी
विना कुनै सफलता
एउटा अर्थहीन रमाइलो रमाउँछन।
त्यसैले अब
आयूर्दोण सुते होईन
आऊ सबै ऊठ भनेर
आशीर्वाद दिऊन बाहरुले आमाहरुले
झण्डा नयाँ बोकून
फेरिएका पुराना भोटाहरुले जामाहरुले
र आवोस त्यो दिन छिट्टै जब हामी
एउटा साँचो खुशी मनाउनेछौं
रामायणको दन्त्य कथा होइन
हामी हाम्रै युगको
नयाँ रावणलाई मार्नेछौं
र ईतिहासको नयाँ पानामा
हामी हाम्रै विजयको
नयाँ कथा लेखाउनेछौं।
No comments:
Post a Comment