उपासना विहानै उठेर चिया पकाउँछे
चिया पकाउँदा पकाउँदै
ऊ आफ्ना दिनभरिका
असङ्ख्य योजनाहरु पकाउँछे
रित्ता गिलासहरुमा केत्लीको
तातो चिया भर्दै
ऊ आफ्ना जवानीभरिका
मीठा सपनाहरु पकाउँछे
निर्दोष रहरहरु पकाउँछे
बैनी एक कप चिया भन्दै
साइनो लगाउनेहरुको इशारामा
ऊ आफूलाई दिनभर थकाउँछे।
रुपमा नराम्री ऊ कहाँ हो र
ऊ हिस्सी परेकी छे
जो आउँछन उसको पसलमा
ऊ तिनलाई मन परेकी छे
उसको हिंडाइमा शालिनता छ
उसको बोलाईमा मोहनी छ
ऊ बोलेरै कसैमा
प्यास जगाउन सक्छे
चीसो पानीको प्यास ऊ
तातो चियाले पनि भगाउन सक्छे
सबको आँखामा ऊ छे
तर उसको आँखामा
बलिरहेको चूलो
उम्लिरहेको पानी र दूध
उसको बोली जस्तै
गुलियो चिनीको कण
उसको मादकता जस्तै
चियाको बास्नादार धूलो
अहँ, यी बाहेक
केही फुल्न सकेन
सयौं आए, सयौं गए
चञ्चल ऋतुहरु
तर उसको मायालु याम
कहिल्यै आएन।
सबैकी प्यारी उपासना
सबैकी राम्री उपासना
एकदिन कसैकी पत्नी होली
मायाले पकाएर एक कप मीठो चिया
ऊ आफैं ख्वाउली आफ्नो पतिलाई
विर्सेली सायद त्यतिखेर ऊ
पहिलेको दुःखलाई
दुःखको झुप्रोमा धाउने जतिलाई
न ऊ पढेकी छे
न अहंकारले चढेकी छे
प्रकृतिको नियम मात्र न हो
ऊ विस्तारै बढेकी छे
अब त ऊभित्र पनि
रहरहरु पलाईसके होलान्
चियाको कपमा जिन्दगीको छायाँ नदेखेपछि
उसलाई पनि चाहना होला
ठूलो ऐना हेरेर मुस्काउने
उसलाई पनि रहर होला
कालो कपाल चुल्ठो बनाई
फरर पारी फुस्काउने
कुनै दिन पूरा होला
उसको मीठो सपना
तर अहिले नै भने
ऊ चिया पकाउनैमा व्यस्त छे
ग्राहक फकाउनैमा व्यस्त छे
मीठो बोलेर
माया छरेर
हावामा एउटा धून सुसेलिरहिछे
“दाइ, कति कप चिया?”

No comments:
Post a Comment