के खोजिरहेछौ तिमी
एक्लैएक्लै यो बन्द कोठामा
जाऊ बाहिर पर्खिरहेछन् तिमीलाई
हजारौं अवसरहरु
गएर रोज तिमी कुनै एउटा
र सजाऊ आफ्नो शीरमाथि
सफलताको एक थुँगा लालीगुराँस।
हराएको के नै थियो र तिम्रो
पाएको पनि कहिले थियौ र तिमीले
त्यसैले अन्धाधुन्ध नखोज
भयो, पुग्यो, अब नसोच
उठ, पाईला अगाडी बढाऊ
ऊ हेर ढोकामै आईसक्यो
नयाँ जीवनको सन्देश
तिमी झ्यालबाट परपर हेर्छौ
मान्छेहरुको भीडमा
र पराई पाउँछौ आफूलाई समेत।
रात परेपछि आँखा देखिएन त
अध्याँरोलाई के को दोष?
भैगो बासी नबाँच तिमी
हिजोका सपनाहरुसँग
काँचो नहाँस तिमी
भोलिका भरोसाहरुसँग
तिम्रा पाईलाहरुको प्रतीक्षामा
बाटो लमतन्न सुतिरहेछ
निस्क तिमी संघारमा
सम्भावनाहरुको एउटा
नयाँ लाल्टिन बालेर।

No comments:
Post a Comment