म बैशाखको पात झैं
काँपिरहेको थिएँ
तिमीले पछ्यौरी ओढेकी थियौ
म त्यही पछ्यौरीको आशमा
तिमीले फेरेको न्यानो सासमा
सकीनसकी
आँफूलाई थामिरहेको थिएँ।
तिमी नजिकै आयौ
अलिकति मुस्कुरायौ
काँडा उम्रेका
मेरा हातगोडा हेर्यौ
अनि सर्लक्क झिकेर
आफ्नो पछ्यौरी
मलाई ओढायौ।
अनि मैले देखें
मेरा हिउँ जस्ता
अनुभुतिहरु
तिमीतिर सर्न थाले
चीसो बढ्दै गयो
काँडाहरु उम्रदैं गए
पहाडहरुमा फेरि
हिउँ पर्न थाले।
म चाहान्छु
आऊ तिमी पनि
यो पछ्यौरीभित्र
मसँग बस
तर के यो कुरा
समाजलाई पच्न सक्छ?
सक्छ भने आज
हामी दुवैको
जीवन बच्न सक्छ
तर सक्दैन भने
हामी दुईमध्ये
कुनै एकको अन्त्य होला
सम्झेर यो कहानी
एकदिन तिमीले
ओढिराखेको त्यो
पछ्यौरी पनि रोला।

No comments:
Post a Comment