एकदिन विहानै मर्चवारमा
आईपुग्यो एउटा ठूलो बस
एउटा ठूलो सरकारी दस्ता बोकेर
टोलीका टोली खटाइए सबै ठाउँमा
मर्चवारका भित्र भित्रका
गाउँगाउँमा
कोही रिपोर्ट बनाउने भन्दै
कोही तिनका सहयोगी बन्दै
टोली छिर्यो मझगावँको
गाविस कार्यालयभित्र
र हान्न थाल्यो गोली
सयौं प्रश्नहरुको
भर्खरै भैरहवा माल अड्डाबाट
सरुवा भई आएका
गाविस सचिवलाई ताकेर।
बाहिर प्लाष्टिकको कुर्चिभरि खचाखच
परिषदको बैठकमा भाग लिन बसेका
एक हुल तन्ना ओढेका मान्छेहरु
भित्र रिपोर्ट बनाउने भन्दै
प्रश्नावली बोकेर पसेका
अर्को हुल मान्छेहरु
बाँस झैं नुहेकी एउटी बूढी आमा
आफैंलाई प्रश्न गर्छिन
“मेरो
बृद्धभत्ता कहिले आउँछ?”
केही बेरको गन्थनपछि
थरिथरिको मन्थनपछि
बाटोमा पर्याप्त भेटिने
फोहोरको थुप्रोलाई छल्दै
टोली अगाडी बढ्यो
मझगावँको भित्री गाउँमा
रिपोर्ट लेख्ने नाउँमा
अचानक भेटियो एउटा मदरसा
जहाँ पढ्दै थिए
निर्दोष केटाकेटीहरु
ये हमारे देश है।
ये नेपाल है।।
ये मर्चवारी है।।।
रिपोर्ट लेख्ने टोलीले लेख्यो
खै कस्तो रिपोर्ट
सलिम अन्सारीलाई थाहै भएन
अशिक्षाले अन्धकार बस्तीमा
रिपोर्ट लेख्ने टोलीले देख्यो
खै कस्तो दूर्दशा?
भर्खरै अरबबाट छुट्टीमा फर्केको
लाहुरे फैजानलाई
त्यो जान्ने चाहै भएन।
एकदिन विहानै
बिजुली चम्केको गतिमा
राजधानीबाट एउटा बस आयो
र विजुली चम्केकै गतिमा
पुनः राजधानी फर्कियो
परिषदको बैठकमा भाग लिन आएका
मझगावँलीहरुलाई रमिते पारेर
गरिबीले ढाडै फुस्किएका
गाउँलेहरुको तस्वीर लिएर
मदरसाको कक्षा कोठामा चिच्याइरहेका
केटाकेटीहरुलाई चकलेट बाँडेर।
No comments:
Post a Comment