म हनुमन्ते
हिजोको पवित्र हनुमती नदी
मेरो कञ्चन पानी पिएर हुर्केका
कति अजा अजीहरु
अझै पनि होलान
कुनै सत्तलमा भजन गाउँदै
म भने फेरिएको छु
हिजोको पवित्र नदी हनुमतीबाट
बदलिंदै, बदलिंदै
आज प्रदूषित हनुमन्ते भएको छु।
म जहाँ बग्छु
या बग्न नसकेर थकित हुँदै
बूढो गधा जस्तै
जिन्दगी घिसार्दै हिंड्छु
नाक थुन्छन स्कुले केटाकेटीहरु
मेरो दयनीय अवस्था देखेर
म फोहोरको अर्को नाम भएको छु
म दूर्गन्धको अर्को नाम भएको छु
हिजोको पवित्र नदी हनुमती
म आज बदनाम भएको छु।
मेरो काखमा लहलह झुल्ने
धानका बालाहरु
आज कथामा सीमित भएका छन
मेरो आँखामा नाच्ने हरिया फाँटहरु
आज चिरा चिरा परेका छन
बदलामा छरिएका छन
प्लटिङका अनगिन्ति टुक्राहरु
जहाँ पैसा मात्र खाने
खाइरहने र कहिल्यै नअघाउने
सिमेन्टको मुटु भएका
छातीभरि फलामे डण्डी जस्तै
करङ भएका
अग्ला अग्ला कंक्रिटका मान्छेहरु
मेरो बेगलाई रोक्न खोज्दैछन।
म रिसाएँ भने
कुनै दिन मार्बल बिछ्याइएका
भान्साहरुभित्र छिर्न
मलाई कुनै प्रवेशाज्ञा चाहिने छैन
म बौलाएँ भने कुनै दिन
कसैले नदेखेको
कसैले नाम नसुनेको
हनुमान सागर भएर म बगिदिनेछु
अस्तित्वको अन्तिम क्रन्दन बोकेर,
त्यसैले मलाई मेरै गतिमा बग्न देऊ
मलाई मेरै पुरानो स्वरुपमा फर्कन देऊ।
वा, अति सुन्दर पर्यावरणीय चेतनाले मन नै हल्लाइदियो। अब सगरमाथाको टुप्पाबाट खतराको घण्टी बजाउँदै हरित युद्धको शंखघोष गर्नुपर्छ।
ReplyDelete