फूलेको एउटा फूल
अर्कै जातको परेछ भनेर
उसले सिंगै गमला फुटाइदियो,
गाउँलेहरुले वास्ता गरेनन्।
कर्कश स्वरमा रोयो भनेर
दूधे बालकलाई
आमाको काखबाट खोसेर
उसले नदीको भेलमा बगाइदियो
गाउँलेहरुले विरोध गरेनन्।
जूनले अलिकति मुहार लुकायो भनेर
उसले जूनेलीमाथि नै तेजाब खन्याइदियो
गाउँलेहरु नाचगान गरिरहे
जूनेलीको लागि रगत बगाएनन्।
आफूले चाहे जस्तो सुवास
पवनले उडाएर ल्याएन भनेर
उसले पूरै गाउँमा आगो लगाइदियो,
गाउँलेहरु ज्यान बचाउन भागाभाग गरे
तर आगो लगाउनेको खोजी गरेनन्।
मान्छे हुनुको नाताले
असह्य पीडा त त्यतिखेर भयो
जब यी सारा अपराध गर्नेलाई
अन्त्यमा गाउँलेहरुले नै देवता घोषणा गरिदिए,
र आजसम्म पनि यो अध्याँरो गाउँमा
उसैको पूजा चलिरहेको छ।
लेखकलाई धन्यवाद । एक अध्याँरो पाटोको कवित्माक उजागरको लागि ।
ReplyDelete