Thursday, 23 April 2026

सुकुम्बासी

 

म हुँ

यो देशको खास सुकुम्बासी

जो जन्मिएँ यही टहरामा

खेलें, हुर्किएँ यही नदीको किनारमा

मेरो लागि पहाड यही हो

मेरो लागि मधेश यही हो

मेरो देश यही हो

राज्य विनाको मेरो

राजधानी यही हो।

 

देख्छु अलि पर

अग्ला अग्ला टावरहरु

जहाँ पुग्न मलाई वर्जित छ

भव्य शपिङ मलहरु

जहाँ मेरो लागि सस्तो सामान

विरलै किन्न पाइन्छ।

म त खान्छु यही खोला

किनारको छाप्रोमा

कहिलेकहिं किनेर

सस्तो बफ मःम।

 

सुन्छु अलि पर

तारे होटेलहरु मात्र होइन

तारे स्कुलहरु पनि छन रे

जहाँ पढ्छन रे म जस्तै

ससाना केटाकेटीहरु

पहेंलो बसमा चढेर

कोलोनीमा आउने जाने गर्छन् रे

आफू त खोलै खोलाको बाटो

ढलको गन्ध सहँदै

एक्लै हिंडेर जान्छु

बस्तीको सरकारी विद्यालय

कम्तिमा पढ्न पाएको छु

यो सुकुम्बासी टोलमा जन्मेको

म यो देशको भविष्य।

 

सुन्दैछु फेरि

परबाट डोजर आउँदै छ रे

सुकुम्बासीको छातीमा ताकेर

हान्दैछ रे निर्दयी सरकारले

ऊ माइकिङ् शुरु भइसक्यो

ऊ आमाहरु रुन थाल्नुभयो

हेर्दाहेर्दै मेरो किताब च्यातियो

हेर्दाहेर्दै भाइको खेलौना हरायो

हेर्दाहेर्दै बैनीको रिबन चुँडियो

धनीहरुको यो शहरमा

धनीकै छ सरकार

हाम्रो घरबार रित्तियो।



Sunday, 22 March 2026

चैतको मूल नहर

चैतको खडेरीमा
मूल नहरको पानी सुक्यो
हिंड्न थाले कमिलाहरु
खेतका गह्राहरु सबै
हेर्दाहेर्दै प्लटिङ भइसके
जहाँ झुल्थे हिजो
चैते धानका बाला,
सारस र बकुल्लाहरु डुल्थे
घोलमा माछा खोज्दै
अन्नको भण्डार थियो 
हिजो जुन थलो, आज
आफैं खरिद गर्छ धान
सीमा पारीबाट।

अपितु
गाउँलेहरु खुशी छन
आफूलाई रातारात नगरबासी
बनाउन पाएकोमा
घर अगाडीको सडक 
आज कालोपत्रे भएको छ
कौडीमा नबिक्ने धुर्को
अहिले करोडको भएको छ
एक टुक्रा फाल्दा
आँगनमै आउँछ 
ब्राण्डेड ईभी गाडी, 
हाम्रा युवाहरु गर्व गर्छन 
आफूलाई सहरिया
भनाउन पाएकोमा।
प्रत्येक घरको अगाडी
अमेरिका जापान
अष्ट्रेलिया क्यानडा
जानेहरुको लागि
विज्ञापन झुन्ड्याइएको छ।

अध्ययनको बहानामा
काम गर्न वा बसाइँ जानेहरुलाई
सजिलो भएको छ, अचेल।
पढेर फर्की आउने र स्वदेशमै
उद्यम गर्नेहरुको लागि छैन
कुनै मास्टर प्लान यहाँ।
कतार मलेशिया वा
विदेशी सेनामा भर्ति हुन
जानेहरुलाई शूभ यात्रा
एअरपोर्टसम्म जाने बाटो 
घरैदेखि पिच भएको छ
ठाउँठाउँमा राखिएका छन
फेरि भेटौंलाका बोर्डहरु।

खुलेका छन् थरी थरी पसल
कमी के को छ र यहाँ
केवल हरेक चिजमा अरुको 
भर पर्नुपरेको छ
गरीखाने होइन यहाँ
देखाउने र देखाइदिने 
काम गर्नुपरेको छ।
म चाहन्छु
चैतको यो खडेरीमा
मूल नहरमा फेरि पनि 
टनाटन पानी भरिवोस्
फेरि पनि चैते धानले
भकारी भरिवोस
आफ्नै माटोमा उब्जेको 
अन्नले खान पुगोस
रहरले बाहेक कोही
विदेश जानु नपरोस्।


Thursday, 19 March 2026

प्रियतमालाई अनुरोध

  

प्रियतमा!

तिम्रो निष्कपट ह्रदयको 

दैलोभित्र म देखिरहेछु

ममताको एक मझेरी

जहाँसम्म टेक्न मलाई

बन्देज छ कि कुन्नि?

भैगो, म बाहिरै बस्छु

तर तिमी बेलाबेलामा

मनको सञ्झ्यालबाट 

मलाई चिहाउँदै गर्नू है।


तिम्रो बोलीको माधुर्यता

तिम्रो शब्दको छनौट

ओज तिम्रो मौनताको

अर्थ तिम्रो इशाराको

म बुझे बुझे झैं गर्छु सधैं

प्रिय आऊ न एकबाजी

काखैमा आएर भनिदेऊ

तिमीले पनि कहिलेकहिं

देख्छेउ कि उस्तै सपनी।


म हरपल हरपल

तिम्रो प्रतीक्षा गरिरहेछु

हरेक साँझ जूनको

उज्यालोसँगै तिमी आऊ

हरेक बिहान झिस्मिसेमा

तिमी मसँगै उदाऊ

अप्रत्यासित प्रत्यासित

सबै क्षणहरुमा होऊन्

तिमीसँगको अनुपम भेट।


प्रियतमा!

थाहा छैन यो जिन्दगी

कुन खोला कुन नदी

कुन सागरमा मिसिने हो?

बोकेर बाध्यताको झोला

यो अनकन्टार यात्रा

कति कोश हिंड्नुपर्ने हो?


बग्दा बग्दै किनारामा

तिमी भेटियौ भने पनि

म रुक्न नसक्ने रहेछु

हिंड्दा हिंड्दै तिमी बाटोमा

देखियौ भने पनि म

बोल्न नसक्ने रहेछु कि

प्रियतमा! आऊ न तिमी 

आफैं बोलिदेऊ आज फेरि

उही सुमधूर स्वरमा 

कस्तो छ हजूरलाई?

 

जीवन यात्रा


कोही छैन मेरो

हिंड्दै जाँदा बाटोमा

कहाँ पुगिने हो

आफैंले अनुमान गर्छु

अलिकति डर लाग्छ

कतै म घुम्दैफिर्दै

गोलचक्करमा हराउने पो हुँ कि!

 

यात्रीहरु अनन्त छन

यात्रा आआफ्नो छ

कर्तब्य आआफ्नो

गन्तब्य आआफ्नो

मेरो गन्तब्य कुन हो?

कि यो अनन्त यात्रा नै

यो जिन्दगीको साध्य हो!

 

खुशी के हो?

खोज्दै जाँदा मैले

इन्द्रेनीका रंगहरुमा

फरक फरक अनुभुति देखें

खुशी समुन्द्रको लहरमा

खुशी हिमालको टाकुरामा

खुशी जंगलमा

खुशी महलमा

सबैतिर खुशी नै खुशी नै देखें

तर बटुवाजस्तै, म जस्तै।

 

दु:खको भारी बोकेर

मैले दु:खलाई टार्दै हिंडे

दु:खले मलाई मार्दै हिंड्यो

अन्तिममा थाहा पाएँ

जेलाई मैले दु:ख ठानेको थिएँ

आखिर त्यही जीवन रहेछ

सुख र दु:ख भनेको त 

घाम र छायाँ जस्तै रहेछ।

 

कोही छैन मेरो

यो धर्तीमा जहाँ छन्

सारा चराचर जगत

स्वामित्वको कुरा होइन

दायित्वको कुरा रहेछ

बाँच्नुको अर्थमा यहाँ

म हुनु रहेछ

मर्नुको अर्थ शायद

नहुनु रहेछ।

Saturday, 13 September 2025

जेन-जीलाई सम्बोधन


प्रिय जेन-जी!

पुरानो सत्ता ढले पनि 

मानसिकता अझै उस्तै छ

जेन-जीको नाममा

नयाँ नयाँ अनुहारहरु

खरानी धसेर आउने

सम्भावना उत्तिकै छ,

सावधान! स्यालहरुले 

बाघको खोल ओढेर

अझै रजाइँ गर्ने 

सपना देख्न खोज्दैछन्,

तपाई सचेत हुनुहोला,

अव आवेगले होइन,

विवेकले काम गर्नुहोला।

 

प्रिय जेन-जी!

पहिलो कुरा त तपाईले 

आफ्नो घरबाट 

परिवर्तनको शुरुवात गर्नुछ,

बाबालाई सोध्नूस,

हाम्रो आम्दानीको स्रोत के हो?

तपाईको व्यावसायमा 

कति कर तिर्नुभएको छ?

आमालाई सोध्नूस,

गाडी कताबाट आयो?

महँगा गहना, झोला र

साडी कताबाट आयो?

 

प्रिय जेन-जी!

जसरी खाएको हुन्छ

एउटा युवाले फौजीमा जागिर

परि आएमा 

बाबुलाई गोली हान्न तयार छु

आमालाई झुण्ड्याउँछु भनेर,

तपाईसँग 

त्यो सङ्कल्प हुनुपर्छ

त्यो उत्साह हुनुपर्छ

त्यो जोश हुनुपर्छ,

त्यो होश हुनुपर्छ।

 

प्रिय जेन-जी!

परिवर्तनको तपाई सम्बाहक हो,

तर परिवर्तन अझै भएकै छैन,

मेटाउनुपर्नेछ तपाईले पहिले

मान्छेका मनमा उठेका

अन्यौलका तरंगहरु

भर्नुपर्नेछ तपाईले 

तपाईले सबै पुस्तालाई

विश्वासका थरि थरि रंगहरु

पुरानो सत्ताभित्र पनि केही

पीडित, शोषित 

र अन्यायमा परेका

अनुभवी पात्रहरु हुन सक्छन,

उपयोग गर्नुपर्नेछ तपाईले 

उनीहरुका दबाइएका स्वरहरु।

 

प्रिय जेन-जी!

तपाईलाई बधाइ छ,

तपाईले यो सम्भव बनाउनुभएको छ

जो हिजो करोडौंको सपना थियो,

गोपाल प्रसाद रिमालको

आमाको सपना कविता

नेपाली समाजमा 

पहिलो पटक सार्थक भएको छ,

यो बुद्ध जन्मेको देशमा 

सीता र भृकुटीको देशमा 

तपाईले बिजुलीको गतिमा

ध्वस्त बनाइदिनुभएको छ,

पुरानो, निरंकूश, तानाशाही

सत्ताको संरचना

नहुनु क्षति जो भयो

होनहार युवाहरुको

हाम्रो सम्झनामा ती रहिरहनेछन

अमर शहीद बनेर

प्रिय जेन-जी!

अब सम्हालिएर गर्नुछ 

एउटा नवीन यात्रा

र देखाउनुछ विश्वलाई

युवाको सोच र शक्ति।

 

Thursday, 4 September 2025

नियुक्ति पत्र


एउटा साधारण चिठी

जहाँ लेखिएको छ,

महाशय, तपाईलाई

फलानो पदमा

फलानो मितिदेखि

नियुक्त गरिएको छ,

तर सोच्नूस् त

नियुक्ति पत्रको

यो एउटा पानाभित्र

कति धेरै जिम्मेवारी,

दायित्व र आशाले

यो भरिएको छ?

(१)

  

हुन त केही होइन

यो नियुक्ति पत्र

जागिर खाने मेलो हो

भन्नेहरु पनि छन्,

कठीन परिश्रम र संकल्पको फल

यसलाई भाग्यको खेलो हो,

भन्नेहरु पनि छन्

त्यसै केही नगरी

नियुक्ति पत्र हेरेर

केवल अवकाशका दिनहरु

गन्नेहरु पनि छन्

तर सम्झनूस त, महाशय

सेतो पानामा

काला अक्षरहरुले

पोतिएका यी हरफहरुमा

तपाईप्रति राज्यको

कति ठूलो लगानी छ?

घोत्लिनूस् त 

यो प्रणाली बसाल्नुमा 

हाम्रा पूर्वजहरुको

योग्यता र दूरदर्शीताको

कति घतलाग्दो कहानी छ?

(२)

 

दया लाग्छ, कतिले

यही नियुक्ति पत्र भजाएर

बजारमा अदृष्य राज गरेका छन् रे

अलौकिक, सर्वगूणसम्पन्न बनेर कतिले

यसको चरम दुरुपयोग गरेका छन् रे

तर, याद राख्नूस महाशय

यो नियुक्ति पत्र निशर्त होइन, सशर्त हो

बाटो बिराए हजूरले कुनै दिन

यो खोसिन पनि सक्छ,

कर्कलाको पानी जस्तै हो,

थाहै नपाई पोखिन पनि सक्छ,

कागजको पाना न हो

आफ्नै पसिनाले ओसिन पनि सक्छ

यसलाई जोगाएर राख्नूहोला।

(३)

 

नियुक्ति पत्र

जो थमाइएको छ, तपाईलाई

व्यावसयिक बन्नूहोला,

व्यवसाय नगर्नूहोला,

यसलाई सम्झेर

कार्यथलोमा, नयाँ नयाँ

कार्यशैली प्रदर्शन गर्नूहोला

बदनामीको थैली नभर्नूहोला,

महाशय, तपाईलाई शूभकामना छ 

तपाई बन्नूहोला

विकासको सम्बाहक

समृद्धिको सारथी

र सुशासनको पर्याय,

जानेर वा नजानेर

यसलाई हतियार ठानेर

कहिल्यै नहान्नूहोला,

नागरिकको सेवा खातिर

सरकारले दिएको

तपाईको नियुक्ति पत्र

तपाई सेवा निवृत्त भएर

नागरिक जीवनमा फर्कने दिन

सरकारलाई नै फिर्ता गर्नुपर्ने

एउटा नासो ठान्नूहोला।

(४)

 

 

महाशय,

तपाईले आज

जुन प्रतिष्ठा पाउनुभएको छ

यो नियुक्ति पत्रको कारणले

कृपया यसको पनि

ईज्जत गर्न सिक्नू है,

बेच्नू आफ्नो सीप र पसिना

तर तपाई आफैं नबिक्नू है

कागजको खोस्टो

एउटा साधारण नियुक्ति पत्र

जसले तपाईलाई यति धेरै

विश्वास गरेको छ

उसैलाई अविश्वास नगर्नू है

लामो छ इतिहास

बृत्तिविकासको

तपाई अल्पायूमै नमर्नू है।

(५)


 

Monday, 11 August 2025

हुन नपरेको लाहुरे

 

हुन नसकेको

म एउटा लाहुरे

बस्छु गाउँमा

सुनाउँदै कथा विश्वयुद्धको

भन्छन् साथीहरु मलाई

"जवान थिइस पहिले तँ,

भएछस् अब त चाउरे"

हुन नसकेको

म एउटा लाहुरे।

 

लाहुरे भएको भए

आइन्थ्यो होला झोला बोकेर

दशैंमा घर

ल्याइन्थ्यो होला देशी मिठाई

बाँड्न वरपर

आश गर्थे होलान्

साथीभाइ मोराहरु

"के ल्याएछ लाहुरेले,

कति दिनको छुट्टी हो?"

तर भइएन लाहुरे

त्यसैले सोध्दैन कसैले

"दुख्छ कि अझै निको भो 

तेरो मनको घाउ रे?"

हुन नसकेको

म एउटा लाहुरे।


लाहुर गएको भए

गाउँले ठिटीहरुले

लुकीलुकी हेर्थे कि मलाई

लाहुरे भएको भए

स्कुल जाने ठिटाहरुले

वरिपरि घेर्थे कि मलाई

गडाफट-सतर्क

सतर्क-गडाफट

सिकाइदिनू भन्दै मैसित,

सेतै फुलेका, बूढाबाहरु पनि

माग्थे होलान मसँग 

एउटा देशी चुरोट,

लाहुरे नहुँदा भइयो दाउरे

हुन नसकेको

म एउटा लाहुरे।

 

लाहुरे भइएन

लाहुर गइएन

गाउँमै बसियो

हल्गोरु जोतियो,

शहरको हावाले

अझै छोएको छैन

सँगै छु हाँसीखुशी

जहान केटाकेटी

सम्झी रोएको छैन,

दुई छाक पेटभर

खाइएकै छ

सानो खुशीमा पनि

रमाइएकै छ,

तैपनि भन्छन किन मलाई 

मेरा पुराना साथीहरु,

मलाई हाँस्न आउँदैन रे

मलाई नाच्न आउँदैन रे

हो, म नाच्छु आज 

मेरै तालमा

कोही बाजा बजाउ रे,

हुन नसकेको

म एउटा लाहुरे।

 

 

हो, हुन नसकेको

म एउटा लाहुरे

बस्छु गाउँमा

सुनाउँदै कथा मलाई 

सात समुन्द्र पारीको

भन्छन् साथीहरु अचेल,

"बाउको छोरो थिइस पहिले,

अहिले भएछस् आफैं बाउ रे"

उनीहरुको नजरमा म

हुन नसकेको लाहुरे,

तर, मेरै नजरमा म

हुन नपरेको लाहुरे।

 

The News Maker

 

Can the New Reader

Make a difference

In the news that

She reads, herself?

 

I have heard-

Somewhere,

There are two kinds of people

(Beside the News Listener

Like you and me)

The News Reader

And the News Maker

I want to be the second one

Not simply want to listen

The news, Whatever!

 

Also, I have heard

No news is good news

Despite the caliber to 

Become the news maker

I have been lazy

For the years,

Just listening to

The boring news

I have been sleepy

All day long.

 

While making the news

There can be something

Like the other news

That I've not expected.

Let it telecast live

Let it be viral

Through social media,

But I've to make news

I am committed to it,

I'm ready to go

I'm ready to work

I am changing myself

From a passive listener

Of the boring news

To the active agent

Of making the news,

The good news!


I do not want to simply read

The news, whatever!

I have to become the news maker

Unlike my past status

As a passive news listener 

Being a news reader at present,

I want to make a news

A different news,

A good news.

 

 

 

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...