Thursday, 23 April 2026

सुकुम्बासी

 

म हुँ

यो देशको खास सुकुम्बासी

जो जन्मिएँ यही टहरामा

खेलें, हुर्किएँ यही नदीको किनारमा

मेरो लागि पहाड यही हो

मेरो लागि मधेश यही हो

मेरो देश यही हो

राज्य विनाको मेरो

राजधानी यही हो।

 

देख्छु अलि पर

अग्ला अग्ला टावरहरु

जहाँ पुग्न मलाई वर्जित छ

भव्य शपिङ मलहरु

जहाँ मेरो लागि सस्तो सामान

विरलै किन्न पाइन्छ।

म त खान्छु यही खोला

किनारको छाप्रोमा

कहिलेकहिं किनेर

सस्तो बफ मःम।

 

सुन्छु अलि पर

तारे होटेलहरु मात्र होइन

तारे स्कुलहरु पनि छन रे

जहाँ पढ्छन रे म जस्तै

ससाना केटाकेटीहरु

पहेंलो बसमा चढेर

कोलोनीमा आउने जाने गर्छन् रे

आफू त खोलै खोलाको बाटो

ढलको गन्ध सहँदै

एक्लै हिंडेर जान्छु

बस्तीको सरकारी विद्यालय

कम्तिमा पढ्न पाएको छु

यो सुकुम्बासी टोलमा जन्मेको

म यो देशको भविष्य।

 

सुन्दैछु फेरि

परबाट डोजर आउँदै छ रे

सुकुम्बासीको छातीमा ताकेर

हान्दैछ रे निर्दयी सरकारले

ऊ माइकिङ् शुरु भइसक्यो

ऊ आमाहरु रुन थाल्नुभयो

हेर्दाहेर्दै मेरो किताब च्यातियो

हेर्दाहेर्दै भाइको खेलौना हरायो

हेर्दाहेर्दै बैनीको रिबन चुँडियो

धनीहरुको यो शहरमा

धनीकै छ सरकार

हाम्रो घरबार रित्तियो।



No comments:

Post a Comment

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...