हुन नसकेको
म एउटा
लाहुरे
बस्छु गाउँमा
सुनाउँदै कथा विश्वयुद्धको
भन्छन्
साथीहरु मलाई
"जवान थिइस
पहिले तँ,
भएछस् अब त
चाउरे"
हुन नसकेको
म एउटा
लाहुरे।
लाहुरे भएको
भए
आइन्थ्यो
होला झोला बोकेर
दशैंमा घर
ल्याइन्थ्यो
होला देशी मिठाई
बाँड्न वरपर
आश गर्थे
होलान्
साथीभाइ
मोराहरु
"के
ल्याएछ लाहुरेले,
कति दिनको
छुट्टी हो?"
तर भइएन लाहुरे
त्यसैले
सोध्दैन कसैले
"दुख्छ कि अझै निको भो
तेरो मनको घाउ रे?"
हुन नसकेको
म एउटा
लाहुरे।
लाहुर गएको
भए
गाउँले
ठिटीहरुले
लुकीलुकी
हेर्थे कि मलाई
लाहुरे भएको
भए
स्कुल जाने
ठिटाहरुले
वरिपरि घेर्थे
कि मलाई
गडाफट-सतर्क
सतर्क-गडाफट
सिकाइदिनू भन्दै मैसित,
सेतै
फुलेका, बूढाबाहरु पनि
माग्थे होलान मसँग
एउटा देशी चुरोट,
लाहुरे
नहुँदा भइयो दाउरे
हुन नसकेको
म एउटा
लाहुरे।
लाहुरे भइएन
लाहुर गइएन
गाउँमै बसियो
हल्गोरु जोतियो,
शहरको हावाले
अझै छोएको
छैन
सँगै छु
हाँसीखुशी
जहान केटाकेटी
सम्झी रोएको
छैन,
दुई छाक पेटभर
खाइएकै छ
सानो खुशीमा
पनि
रमाइएकै छ,
तैपनि भन्छन किन मलाई
मेरा पुराना साथीहरु,
मलाई हाँस्न
आउँदैन रे
मलाई नाच्न
आउँदैन रे
हो, म नाच्छु आज
मेरै तालमा
कोही बाजा बजाउ रे,
हुन नसकेको
म एउटा
लाहुरे।
हो, हुन
नसकेको
म एउटा
लाहुरे
बस्छु गाउँमा
सुनाउँदै कथा मलाई
सात समुन्द्र पारीको
भन्छन् साथीहरु अचेल,
"बाउको छोरो थिइस पहिले,
अहिले भएछस् आफैं बाउ रे"
उनीहरुको नजरमा म
हुन नसकेको लाहुरे,
तर, मेरै नजरमा म
हुन नपरेको लाहुरे।
No comments:
Post a Comment