Tuesday, 16 June 2020

हजूरआमाको बाला





जव जव म
मेरी हजूरआमाको हातमा
एउटा चाँदीको बाला देख्छु
म अनायासै सोध्न थाल्छु,
हजूरआमा भन्नूस न,
यो बाला हजूरलाई कस्ले दिएको?
साह्रै पुरानो भईसकेको छ यो
हेर्नूस त यो कसरी खिएको।
हजूरआमा, भन्नूस न
यो बाला हजूरलाई कस्ले दिएको?

घाँसका भारी बोक्दै उकालो लाग्दा
हिन्दुस्तानबाट हजूरबा आउनुभयो कि
झिकेर दिएपछि कोटको खल्तिबाट
खुसी भएर लगाउनुभयो कि
कि घाँस काट्ताकाट्तै
केश बाट्ताबाट्तै
कहिं कतै बाटोमा
खसिरहेको पाउनुभयो कि?
भन्नूस् न हजूरआमा
यो बाला हजूरलाई कस्ले दिएको?
बाला लगाएको यो हातले सारेको पानी
सबभन्दा पहिले कस्ले पिएको?

थाम्न नसकेर आँसु छोरीको विदाईमा
कतै आमाले थमाउनुभयो कि
दुःखजेलो मेलापात गरेर
कतै आफैंले कमाउनुभयो कि?
कि दिए दाजुभाइले
र हजूरले समाउनुभयो कि?
भन्नूस् न हजूरआमा
यो बाला हजूरलाई कस्ले दिएको?

मौरीले रानोलाई नछोडे झैं
मैले हजूरलाई छोड्ने छैन
यो प्रश्नको जबाफ दिएपछि
अर्को प्रश्न सोध्ने छैन भनेर
जव मैले कान समाएँ
हजूरआमा रुन थाल्नुभयो
र भन्नूभयो, बाबु यो जुनीमा
पहिलोपल्ट तिमीले यो प्रश्न सोध्यौ
सुटुक्क भन्छु तिमीलाई
कसैलाई नसुनाउनू बुझ्यौ?

धेरै वर्ष पहिले तिम्रा जस्तै
मेरा पनि साथी संगी थिए
याद आउँछ अहिले
तीमध्येका एक जना प्याराले
मसँग विहे गर्छु भन्थे
म दिंदैनन भन्थें
उनी नदिए मर्छु भन्थे
चिनो दिएर उनी
लाहुरे हुन गए तर
फर्केर आएनन बाबु
सम्झना मात्रै रहे
तिनले दिएको माया
अध्याँरोभित्रको छायाँ
यही बाला हो बाबु
सबै भन्छन जीवन
फूलको थुँगा भनेर
तर मेरो मेरो त
चुँडिएको माला भो बाबु।

अनि पो बल्ल मेरो
जिज्ञासा मर्न थाल्यो
तर हजूरआमाको आँखाबाट
फेरि पनि टलपल टलपल
आँसु झर्न थाल्यो।


2 comments:

  1. निकै राम्रो छ सर । आजभन्दा ८/१०वर्ष अगाडि कवि कै मुखबाट यो कविता सुन्ने मौका मिलेको थियो । अरु कविताहरू पनि यो ब्लकमा उपलब्ध हुनेछन भन्ने अपेक्षा गर्दछु ।

    ReplyDelete
  2. धन्यबाद,सर। हाम्रा रचनाहरु आदानप्रदान गरौं। तपाईले लेख्नुभएको भीमसेन थापाको रिफरेन्ससहितको कथा सम्झनामा ताजै छ।

    ReplyDelete

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...