सगरमाथाको शिखरमा
हेलिकप्टर चढेर पनि त जान सकिन्छ
तर हेलिकप्टर चढेर सगरमाथाको
टुप्पोमा पुगेपछि
तिमी पर्वतारोही कहलाउन सक्दैनौ
त्यहाँ तिमीले झण्डा गाड्नुको अर्थ
हुने छैन
तिमीले उचाई त महशुष गरौला
तर सगरमाथाको आँसु, हाँसो, पीडा,
खुसी
केही साट्न पाउने छैनौ
तस्वीर त खिचौला सुन्दर
तर यात्रा कतै छुटेको हुनेछ
तल कतै आधार शिविरतिर।
सम्झ तेञ्जिङ र हिलारीले
केवुलकार चढेर होइन
इतिहासमा नाम राखेको
बोकेर भारी सामलको
अनवरत उक्लेर हिउँको पहाड
जो चढेथे पहिलोपटक
विश्वको सर्वोच्च शिखर
के विश्वास थियो होला?
सकूशल फर्कौंला भनेर
के आशा थियो होला?
हिमालले चिनाउला भनेर।
आज सगरमाथाको तस्वीर
पृष्ठभुमिमा राखेर मान्छेहरु
हिमालको गीत गाउँछन
माउन्टेन फ्लाइट गरेर
आफूलाई हिमाल चिनाउँछन
के दश मिनेटमा हिमाल चिनिन्छ र?
के सगरमाथाको थ्री-डी सिनेमा हेरेर
पासाङ ल्याह्मू शेर्पा बन्न सकिन्छ
र?
छोएर हेर्नु पर्दैन र हिमाललाई?
कहिले मुस्कुराएर त, कहिले
रोएर हेर्नुपर्दैन हिमाललाई
पुग्नुछ शिखरमा भने
नाप्नु पर्दैन र बाटो
के चढिदिए हुन्छ कसैले हिमाल
तिमिले चढ्नुको साटो?