Saturday, 28 December 2024

मान्छे र मेशिन

 

 जताततै

मेशिन मात्रै देख्छु अचेल

मान्छे देख्दिन

मान्छेहरु कता गए?

 

मानौं म कुनै 

कारखानामा छु

स्वचालित छन् जहाँ

हरेक क्रियाकलापहरु

रिठ्ठो नबिराई

एआईले राखिरहेछ

हरेक चरणको निगारानी।

मलाई त लाग्छ

काम गर्दा अलिअलि

गल्ति पनि होस्

सच्याउने र सच्चिने

अवसर गायब भएको छ,

यो सहरबाट अचेल

कहाँ गए गुरुहरु

कता लुके चेलाहरु?

 

कोही भारी बोक्ने मेशिन

केवल भारी नै बोकिरहेछन

छैन समय भरियाहरुसँग

एकछिन छुनुमुनुहरुसँग खेल्ने

कोही पाठ गर्ने पढिरहेछन

दिन रात, आठै प्रहर

छैन चाहना पढैयाहरुसँग

एक साँझ चोकमा पुगेर

लोकको रमिता हेर्ने।

मेशीनहरु बरु मान्छे जस्ता

नजिक नजिक आइरहेछन्

मान्छेहरु खाँट्टी मेशिन जस्ता

पर पर भागिरहेछन।

लाग्छ कुनै दिन मेशिनले

नागरिकताको लागि निवेदन दिनेछ,

र बदलामा थमाउनेछ मान्छेलाई

एउटा लिमिटेड वारेन्टी कार्ड

 

ए मेशिनहरु हो!

तिमीहरु मान्छेभित्र नपस

ए मान्छेहरु हो!

तिमीहरु मेशिनभित्र नफस

मान्छे र मेशिनबीच 

दोस्ती यस्तो होस् कि

मान्छेले मेशिनको 

रिमोट आफैंसँग राखोस्

मेशिनले मान्छेका विरुद्ध

मुद्दा हाल्ने दिन नआवोस्

मान्छे मान्छे भएर बाँचोस्

मेशिन मेशिन नै रहोस्

मलाई डर लाग्छ

कतै कुनै मेशिनरुपी मान्छेले

मेरो प्रिय कवितालाई 

मेशिनमा हालेर

भुस बनाउँछ कि?

सावधान मेशिनहरु हो

मान्छेको इलाकामा 

प्रवेश नगर,

मान्छेलाई गल्ति गर्न देऊ

मान्छेलाई बाँच्न अनि मर्न देऊ,

स्वीच अफ नगर।


No comments:

Post a Comment

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...