Saturday, 5 September 2020

बाटोवारि, बाटोपारी


बाटोवारिको

रेष्टुराँमा खाजा खाँदा

दुई शय रुपैंयाको मःमः लाई

दुई शय पचास तिर्छौं हामी,

 

कर, सेवा शुल्क

अनि वेटरलाई टिप्स समेत दिन्छौं।

 

बाटोपारीको 

मकै पोल्ने आमासँग

पच्चीसको मकैलाई

पन्ध्रमा माग्छौं हामी,

 

बार्गेनिङ यति गर्छौं कि

थकित भएर अन्त्यमा बीसमा किन्छौं।

 

यस्तो घटिया चरित्र छ हाम्रो।


Tuesday, 25 August 2020

आदेश

भूकम्प आउनु अघिसम्म
भूकम्प आउँदा खाटमुनि लुक्नू 
भनेर सिकाइयो
खाटमुनि लुकेकाहरु 
जब अकालमै मरे
सरकारले भन्यो,
भूकम्प आउन सक्छ
घरबाहिर बस्नू
खालि चउरमा
त्रिपालमुनि।

फेरि कोरोना आयो
चिउँडोमा मास्क लगाएर
सरकार भन्दैछ,
घरभित्रै बस्नू
बाहिर ननिस्कनू
निस्क्यौ भने खोरमा हाल्छु
बरु भोकले मरे
पछि किरिया खर्च दिउँला
तर कोरोनाले नमर्नू।

धन्न, भूकम्प र कोरोना 
सँगसँगै आएनन्
आएको भए 
सायद सरकारले भन्थ्यो होला
सतर्क पोजिसनमा
दैलोठेलोमै बस्नू
कोरोना सम्झे घरभित्र पस्नू
भूकम्प सम्झे बाहिर टाप कस्नू।

कठै, भोकले मुर्च्छित जनता
कसको आदेश पालना गरून्
सरकारको कि पेटको?

Tuesday, 28 July 2020

राष्ट्रसेवक


म यो देशको एक राष्ट्रसेवक
यो देशका हरेक खोलाको गहिराई
म मेरै कम्मरले नाप्न चाहन्छु
यो देशको प्रत्येक हिमालको उचाई
म मेरै पैतालाले छुन चाहन्छु।

म जोमसोमको चीसो वतासमा
भैरहवाको याद बाँच्न सक्छु
म नेपालगञ्जको प्रचण्ड गर्मीमा
नाम्चेबजारको माया साट्न सक्छु
म काँकडभित्ताको सम्झनामा
लिम्पियाधुराको सपना सजाउन सक्छु
म श्रीअन्तुमा उदाएको आकाशलाई
चाँदनी र दोधारामा छुन सक्छु।

औंशीको चकमन्न रातमा पनि
म देख्छु उज्यालो सपना
शिशीरको उजाड जंगलमा
म फुलाउँछू बसन्ती रंगहरु
लोकतन्त्रको आकाशमा म सजाउँछु
एक समाबेशी इन्द्रधनूष।

भूकम्पले भत्केका सपनाहरुमा
म उठाउँछु विश्वासको धराहरा
बिपत्तीको पहिरोले छियाछिया जमिनमा
म फूलाउँछु प्रविधिको लालीगुराँस।

गरीबीले ढाडै फुस्केका बस्तीहरुमा
म निर्विवाद बाँड्न सक्छु राहतको खूशी
वर्षौदेखि नागरिकताविहीन नागरिकलाई
म दैलोदैलोमा पुर्‍याउन चाहन्छु
राज्यको न्यानो आभाष।

दूर्गम देहातका गाउँहरुमा
म विकासको झिलिमिली पुर्‍याउन चाहन्छु
पसीनाले निथ्रुक्क भिजेका शीरहरुमा
म सामाजिक सुरक्षाको छाता ओढाउन चाहन्छु।

परिवर्तनको सुन्दर बगैंचामा
म फलाउन सक्छु सुशासनका फलहरु
उखेलेर झार संक्रमणको
म लहराभरि सजाउन सक्छु
नयाँ युगका सपनाहरु
संघीयताको यो नयाँ विहानीमा
म आफैं कुर्लन सक्छु
चेतनाको एक पूर्णकालीन कटुवाल बनेर।

शीरमा राखेर नेतृत्वको आदेशलाई
म स्थापित गर्न चाहन्छु कानूनको शासन
अञ्जुलीमा उठाएर कौशलको महासागर
पाउमा सजाएर जुत्ता कर्तब्यको
म हिंड्न चाहन्छु यात्रा
एउटा साझा समृद्धिको।




Saturday, 11 July 2020

फूलको नियति



ए, गमलाका फूलहरु हो
के तिमीहरुलाई थाहा छ?
फूल त भीरमा पनि फुल्न सक्छ
फरक यत्ति छ कि 
गमलामा फूलेको फूल
सुनको थालीमा चढेर
देवताको मन्दिरमा झर्छ
तर भीरमा फूलेको फूल
मस्त यौवनमा पनि
आफ्नो रुपलाई धिक्कार्दै
भीरमा फुल्नुको नियतिलाई
सहर्ष स्वीकार गर्दै
अन्तत: भीरबाटै हाम्फालेर
आत्महत्या गर्छ।

Monday, 29 June 2020

एउटा अपूरो कविता

जन्म दिने बाउआमा त
पैसामा बिक्छन यहाँ
अरु नबिक्ने को छ?

अक्सर, सडकमा
हाटबजारको मूला जस्तै
बिक्छन साथीभाइहरु।

बिक्री हुँदैन प्रेम
भन्दै, कौडीको मूल्यमा
बिक्छन लैला र मजनुहरु।

अरु त अरु
अबोध बच्चाहरु पनि
चुम्बन भन्दा चकलेट बढी
मीठो मान्छन यहाँ।

वैश्य युग हो यो
यहाँ नजन्मदैं विर्य बिक्छ
मरेपछि लाश बिक्छ।

समवेदना बिक्छ।

Wednesday, 24 June 2020

कुकुर जंगल पस्दैनन।

जति नै दुःख परे पनि

कुनै दिन खान नपाएर

सहरमा भोकभोकै मरे पनि

कुकुरहरु जंगल पस्दैनन्।


सहरमा ठूला ठूला

पार्टी प्यालेसहरु छन्

जहाँबाट प्राप्त हुन्छ

कुकुरहरुलाई 

नि:शुल्क जुठो भात

र, त्यो पदार्थ

जंगलमा प्राप्त हुँदैन।


जंगलमा त 

आफै मारेर खानुपर्छ

मुसा होस् वा बन कुखुरा

जंगलमा

जोगिनु पनि पर्छ

बाघ र सिंहहरुबाट

त्यसैले 

सित्तैमा जूठो खान पाइने

सहरसँग नाता तोडेर

कुकुरहरु जंगल जान मान्दैनन्।


किनकी आफैं मेहनत गरेर

खानुपर्ने पेशालाई

कुकुरहरुले कुनै पेशा ठान्दैनन्।


आरक्षण

ओई लेकमा भेडा चराउने पार्वती
ओई बेंसीमा धान रोप्ने जानकी
ओई कोठीमा थुनिएकी सुन्तली
तेरो भागमा पनि थियो नि
आईओएमको छात्रबृत्ति
तैंले पढ्नै सकिनस्
भेडीगोठ छोडेर नागढुंगाको उकालो
तैंले चढ्नै सकिनस्
त्यसैले तँ पीर नगर 
यो जुनीमा तेरो नर्स बन्ने सपना
कुनै भूपू मन्त्रीकी छोरीले 
साकार पार्ने भइछे।

ओई पाँचथरमा आलु खन्ने लिम्बू
ओई टीकापूरमा खेत जोत्ने थारु
तेरो लागि पनि खुलेको थियो नि
सरकारी जागिरको आरक्षण
तँलाई आलु खन्दै फुर्सद भएन
तँलाई खेत जोत्दै फुर्सद भएन
सबभन्दा दुखको कुरा त
लोक सेवा आयोग भनेको के हो?
तँलाई थाहै भएन,
त्यसैले यसपाली तेरो भागको खरिदार
डल्ले साहूको छोराले खाने भएछ।

ओई रारा तालमा ऐना हेर्ने मुगाली
ओई हिमालको हावामा हराएको हुम्ली
तेरो नाममा पनि थियो नि
कलेजको छात्राबासमा एउटा कोठा
तैंले तुइन तर्नै सकिनस्
जहाँ उम्रेको थिइस्
त्यहाँबाट अलिकति सर्नै सकिनस्
त्यसैले हवाईजहाजको महंगो भाडा तिरेर
तेरै गाउँबाट आएको साथीले
बिहानै त्यसमा गुन्टा सारेछ।

ओई धनुषाको डुम
ओई महोत्तरीको चमार
कति बस्छस् हँ?
सधैं सुँगुर पालेर
सिनोको छाला काढेर
तेरो भागमा पनि खुलेको थियो नि
सेना र पुलिसको जागिर
तैंले कुद्नै जानेनस्
तैंले भनेकै मानेनस्
त्यसैले तेरो हातमा थमाउनुपर्ने बन्दुक
फेरि कुनै यदुबंशीले नै पड्काउने भएछ।


तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...