Monday, 11 August 2025

न्यानो मायाको खोजीमा

 

भर्खर जन्मेको शिशुलाई

दूध चुसाउन इन्कार गरे झैं

कुनै निर्दयी आमाले

जब तिमीले मलाई

मायाको न्यानो घरभित्र

अनायासै प्रवेश निषेध गर्यौ,

म आँगनको डिलमा बसेर

चीसो रात काटिरहें।

 

सम्झें, आकाशमा

जून पनि त एक्लै छ

ताराहरु पनि छन,

पिल्पिल पिल्पिल बलिरहेका

सायद उनीहरु पनि

म जस्तै पीडामा छन्

भीडमा पनि एक्लै

उस्तै तर बेग्लै।

 

भित्र, ओभानो शिरानीमा

सायद तिमी निदाइरहेकी हौली

देख्दैछौ कि कतै, सपनी

मुलायम तिम्रा औंलाहरुसम्म

झुक्किएर म आइपुगें कि

म बिना कुनै अनुमति

तिम्रो मनको घरसम्मै,

यदि त्यस्तो भएछ भने

मलाई माफ देऊ है प्रिया

एउटा दुस्वप्न सम्झेर।

 

तिम्रो, एक मूठी मायाको लागि

म चार भञ्ज्याङ उक्लेर

चार गल्छी छिचोलेर

जिन्दगीको बाजी राखेर

भिखारी जस्तो बनेर

तिम्रो आँगन छेउमै आइपुगें.

टेक्न नपाउँदै तिम्रो मझेरीमा

तिमीले गरालो यसरी लगायौ कि

म यो चीसो रातमा एक्लै

तड्पेर बस्न अभिशप्त भएँ।

 

नफर्कने गरी जान मन छ

भोली विहान भाले नबास्दै

तिम्रो गाउँ छोडेर

तिम्रो ठाउँ छोडेर

यस्तो लाग्छ जीवनमा, अव

फेरि भेट नहोस हाम्रो,

मेटियोस शब्दकोषबाट

यो प्रेम भन्ने शब्द पनि।


ढुंगालाई देवता मानेर

मैले आजसम्म तिमीलाई'

पूजा गरिरहेको थिएँ,

बगरजस्तो जिन्दगीलाई

नदीको नीलो बहाव सम्झेर

तिमीलाई पर्खिरहेको थिएँ,

अव चाहन्न यादहरुमा जलेर

आफूलाई थप पीडा दिन,

नलेखियोस यो हाम्रो कथा

जहाँ बग्रेल्ती घातहरु छन्,

नपल्टावोस पाना कसैले

यो बन्द डायरीको, जहाँ

असङ्ख्य निष्ठुरी रातहरु छन्।


तिमी, निदाउनू र उठ्नू

म निदाउन नसके पनि 

यो सपनाबाट ब्युँझेर

फेरि कहिल्यै तिम्रो 

सम्झनाले नसतावोस्

जसरी सताउँछ यो चीसोले

आज एक्लै यो प्रहरमा 

तिम्रो जीवनमा सधैं

खुशीको घाम लागोस्।

 

 

 

 

 

No comments:

Post a Comment

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...