यो मेरा नयाँ पुराना कविता र संस्मरणहरुको संग्रह हो। पढेर प्रतिक्रिया दिने सबैप्रति आभार प्रकट गर्दछु।
Wednesday, 16 September 2020
Sunday, 13 September 2020
सुदूर अतीतको सम्झना
माथी
हिमालबाट
हिमशीला पग्लेर
बग्दै आउने हिमनदी,
र अलि तल
पहाडको फेदितिर
कुनै मूल फुटेर
रसाउने खोला,
जब प्रकृतिको
काखमा रम्दैरम्दै
तल तल बग्छन्,
होला कुनै समय
कुनै स्थान
कुनै परिवेश
मीठो मिलनको पनि,
तर जब भंगालो
फाटेर नियतिको
हिंडनुपर्छ गन्तब्य
दुबैले आआफ्नो,
सायद सम्झना मात्रै
रहन्छ धमिलो
मनको कुनामा कतै
सुदूर अतीतको।
Saturday, 5 September 2020
बाटोवारि, बाटोपारी
बाटोवारिको
रेष्टुराँमा खाजा खाँदा
दुई शय रुपैंयाको मःमः लाई
दुई शय पचास तिर्छौं हामी,
कर, सेवा शुल्क
अनि वेटरलाई टिप्स समेत दिन्छौं।
बाटोपारीको
मकै पोल्ने आमासँग
पच्चीसको मकैलाई
पन्ध्रमा माग्छौं हामी,
बार्गेनिङ यति गर्छौं कि
थकित भएर अन्त्यमा बीसमा किन्छौं।
यस्तो घटिया चरित्र छ हाम्रो।
Tuesday, 25 August 2020
आदेश
भूकम्प आउनु अघिसम्म
भूकम्प आउँदा खाटमुनि लुक्नू
भनेर सिकाइयो
खाटमुनि लुकेकाहरु
जब अकालमै मरे
सरकारले भन्यो,
भूकम्प आउन सक्छ
घरबाहिर बस्नू
खालि चउरमा
त्रिपालमुनि।
भूकम्प आउँदा खाटमुनि लुक्नू
भनेर सिकाइयो
खाटमुनि लुकेकाहरु
जब अकालमै मरे
सरकारले भन्यो,
भूकम्प आउन सक्छ
घरबाहिर बस्नू
खालि चउरमा
त्रिपालमुनि।
फेरि कोरोना आयो
चिउँडोमा मास्क लगाएर
सरकार भन्दैछ,
घरभित्रै बस्नू
बाहिर ननिस्कनू
निस्क्यौ भने खोरमा हाल्छु
बरु भोकले मरे
पछि किरिया खर्च दिउँला
तर कोरोनाले नमर्नू।
धन्न, भूकम्प र कोरोना
सँगसँगै आएनन्
आएको भए
सायद सरकारले भन्थ्यो होला
सतर्क पोजिसनमा
दैलोठेलोमै बस्नू
कोरोना सम्झे घरभित्र पस्नू
भूकम्प सम्झे बाहिर टाप कस्नू।
कठै, भोकले मुर्च्छित जनता
कसको आदेश पालना गरून्
सरकारको कि पेटको?
Tuesday, 28 July 2020
राष्ट्रसेवक
म यो देशको एक राष्ट्रसेवक
यो देशका हरेक खोलाको गहिराई
म मेरै कम्मरले नाप्न चाहन्छु
यो देशको प्रत्येक हिमालको उचाई
म मेरै पैतालाले छुन चाहन्छु।
म जोमसोमको चीसो वतासमा
भैरहवाको याद बाँच्न सक्छु
म नेपालगञ्जको प्रचण्ड गर्मीमा
नाम्चेबजारको माया साट्न सक्छु
म काँकडभित्ताको सम्झनामा
लिम्पियाधुराको सपना सजाउन सक्छु
म श्रीअन्तुमा उदाएको आकाशलाई
चाँदनी र दोधारामा छुन सक्छु।
औंशीको चकमन्न रातमा पनि
म देख्छु उज्यालो सपना
शिशीरको उजाड जंगलमा
म फुलाउँछू बसन्ती रंगहरु
लोकतन्त्रको आकाशमा म सजाउँछु
एक समाबेशी इन्द्रधनूष।
भूकम्पले भत्केका सपनाहरुमा
म उठाउँछु विश्वासको धराहरा
बिपत्तीको पहिरोले छियाछिया जमिनमा
म फूलाउँछु प्रविधिको लालीगुराँस।
गरीबीले ढाडै फुस्केका बस्तीहरुमा
म निर्विवाद बाँड्न सक्छु राहतको खूशी
वर्षौदेखि नागरिकताविहीन नागरिकलाई
म दैलोदैलोमा पुर्याउन चाहन्छु
राज्यको न्यानो आभाष।
दूर्गम देहातका गाउँहरुमा
म विकासको झिलिमिली पुर्याउन चाहन्छु
पसीनाले निथ्रुक्क भिजेका शीरहरुमा
म सामाजिक सुरक्षाको छाता ओढाउन चाहन्छु।
परिवर्तनको सुन्दर बगैंचामा
म फलाउन सक्छु सुशासनका फलहरु
उखेलेर झार संक्रमणको
म लहराभरि सजाउन सक्छु
नयाँ युगका सपनाहरु
संघीयताको यो नयाँ विहानीमा
म आफैं कुर्लन सक्छु
चेतनाको एक पूर्णकालीन कटुवाल बनेर।
शीरमा राखेर नेतृत्वको आदेशलाई
म स्थापित गर्न चाहन्छु कानूनको शासन
अञ्जुलीमा उठाएर कौशलको महासागर
पाउमा सजाएर जुत्ता कर्तब्यको
म हिंड्न चाहन्छु यात्रा
एउटा साझा समृद्धिको।
Saturday, 11 July 2020
फूलको नियति
ए, गमलाका फूलहरु हो
के तिमीहरुलाई थाहा छ?
फूल त भीरमा पनि फुल्न सक्छ
फरक यत्ति छ कि
गमलामा फूलेको फूल
सुनको थालीमा चढेर
देवताको मन्दिरमा झर्छ
तर भीरमा फूलेको फूल
मस्त यौवनमा पनि
आफ्नो रुपलाई धिक्कार्दै
भीरमा फुल्नुको नियतिलाई
सहर्ष स्वीकार गर्दै
अन्तत: भीरबाटै हाम्फालेर
आत्महत्या गर्छ।
Monday, 29 June 2020
एउटा अपूरो कविता
जन्म
दिने बाउआमा त
पैसामा
बिक्छन यहाँ
अरु
नबिक्ने को छ?
अक्सर,
सडकमा
हाटबजारको
मूला जस्तै
बिक्छन
साथीभाइहरु।
बिक्री
हुँदैन प्रेम
भन्दै,
कौडीको मूल्यमा
बिक्छन
लैला र मजनुहरु।
अरु
त अरु
अबोध
बच्चाहरु पनि
चुम्बन
भन्दा चकलेट बढी
मीठो
मान्छन यहाँ।
वैश्य
युग हो यो
यहाँ
नजन्मदैं विर्य बिक्छ
मरेपछि
लाश बिक्छ।
समवेदना
बिक्छ।
Subscribe to:
Posts (Atom)
तपाई कुन पार्टीको?
हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...
-
स्कुल जाने उमेरको एउटा बालक रातो बत्तीको जाममा सडकमा एकैछिन रोकिएका सवारी चालकहरुलाई देखाउँदै छ एउटा लाइसेन्स जहाँ लेखिएको छ विषय – जो जसस...
-
सँधै मनाईरहेको पर्व फेरि मनाउनुमा के गर्व? पोहोर पनि, परार पनि टपरीभरि जमरा छरेकै हो निधारभरि अक्षता भरेकै हो तर त्यो जमरामा फुल्...
-
जव जव म मेरी हजूरआमाको हातमा एउटा चाँदीको बाला देख्छु म अनायासै सोध्न थाल्छु , “ हजूरआमा भन्नूस न , यो बाला हजूरलाई कस्ले द...
