सुनेको थिएँ
हाम्रा पुर्खाहरू
गुफाभित्र बस्थे रे
गुफाभित्रै कोरेका थिए रे
अनेकौं आकृतिहरू
प्राकृतिक थियो रे जीवन
हो, आज म पनि
गुफाभित्रै त बस्छु,
शहर नामको रहरभित्र
उभ्याएको छु एउटा
कंक्रिटको गुफा,
जम्मा चार आनाभित्र
मैले अटाएको छु
मेरो विश्व साम्राज्य
अफसोस, अचेल
वरिपरिका छुद्र ग्रहहरूले
धावा बोल्न थालेका छन्
मेरो सानो गुफामाथि।
शिशिरमा घाम छिर्दैन
मेरो गुफाभित्र
बसन्ती हावामाथि बन्देज
लागेको छ यता,
धुवाँ धूलो मात्रै छ,
सस्तो मेरो गुफाभित्र,
सास फेर्न पनि अब त
अक्सिजन सिलिण्डर नै
ल्याउनुपर्ला जस्तो भएको छ
पानी त वर्षौं भयो
जारको खान थालेको
फुटेर मुहान गाउँमा
पानी खेर गएको छ, सायद
चौतारोको चीसो बतास
हम्कने बर-पीपल पनि
अब त विरानो भइसक्यो।
कन्दमूल खोजेर खान्थे रे
हाम्रा पुर्खाहरु जंगलमा
हामी मन्द विष राखेको
तर्कारी पचाइरहेछौं,
बीस रुपैंयाको दुईवटा पात
धनियाँ किनेर खाइरहेछौं
न छ करेसाबारी
न छ मलखाद,
जे थियो गुफामा हिजो
आज छैन यो शहरमा,
जीवन साँच्चै जंगली छ
हारगुहार माग्दा पाइन्न,
म आधुनिक, सभ्य
र सम्पन्न भनाउँदो मान्छे
शहर नामको एउटा रहरभित्र
कंक्रिटको गुफामा बसेर
वर्षौदेखि कोरिरहेछु,
एउटा अर्थहीन कविता।