छोडेर जानुछ कुनै दिन
यो सुन्दर धर्ती
टाढा कतै क्षितिजमा
विलाएर जानेछ सायद
यो प्राण पखेरु
आफ्ना, आफन्त, साथीभाइ
सबैलाई चटक्क छोडेर
जानुछ एक्लै सायद
एक अनन्त यात्रामा।
रहनेछैन कुनै
धन सम्पत्ति
ऐस आराम
मोज मज्जाको जिन्दगी,
भेटिनेछ सायद
एक अन्धकार
एक निराकार
एक महाशून्यता।
सम्झना छोडेर
यो माया ममताको
याद लिएर असीम
पुग्नुछ सायद कतै
गन्तब्यबिनाको
एक महाप्रस्थानमा
सम्झेलान् कोहीले
कुनै दिन लगाएको भए
एउटा गुन जानी नजानी
बिस्तारै बिस्तारै
बिर्सेलान् फेरि उनैले।
समयको चक्रसँगै
फेरिएलान ऋतुहरु
घुमिरहला यो पृथ्वी
अध्याँरो यो धर्तीमा
उज्यालो छरिरहलान
चन्द्र सूर्यले
प्राणवायु दिइरहलान्
यी बुट्यानहरुले
हामी नभए पनि
चलिरहला यो दुनियाँ।
हामीले छोडेर गएको
यो सुन्दर संसार
सायद स्मृतिको
पर्खाल बाहिरै रहला
नपाउँला हामीले
यी फुलहरुको
बास्ना थाहा पाउन
त्यसैले साथी आऊ
यो जीवन रहँदै
उत्सव मनाऔं
हामीले मनाउन बाँकी रहेको
हाम्रो मृत्युको एउटा उत्सव पनि
हामी यो जीवन छँदै मनाऔं।
No comments:
Post a Comment